प्रहरी ज्यादती विरुद्धको तरुणदलको बन्दले बाँकेको जनजिवन अस्तव्यस्त

  • सिराज खान

नेपालगन्ज, २९ कात्तिक । आफ्ना नेतालाई फसाईएकोले उनको रिहाई लगाायत नेपाली भूमिबाट भारतीय कब्जा हटाउनु पर्ने र भ्रष्टाचार तथा मंहगाई विरुद्ध नेपाल तरुणदल बाँकेले आह्वान गरेको बन्दका कारण शुक्रवार बाँकेको जनजिवन अस्तव्यस्त बनेको छ ।

विहानैदेखि तरुणदल र नेपाली काँग्रेसका नेता कार्यकर्ताले नेपालगन्ज, कोहलपुर, खजुरा र राँझाका चोक-चोकमा जम्मा भएर सवारी साधन आवागमनमा रोक लगाउनुका साथै पसलहरु समेत खोल्न नदिएपछि जनजिवन अत्याधिक प्रभावित भएको हो ।

तरुणदलका नेपालगन्ज नगर सभापतिको रिहाइको मागलाई प्रमुख माग बनाएर आन्दोलित नेपाल तरुण दलका नेता कार्यकर्ताहरुले आक्रामक रुपमा प्रस्तुत हुँदै मोटरसाइकल र ब्याट्री रिक्सा समेत चल्न दिएका छैनन् ।

आफ्ना कार्यकर्तामाथी प्रहरी प्रशासनले ज्यादती गरेको भन्दै नेपाल तरुणदल बाँके केही दिनयता आन्दोलनमा रहेको छ ।

बन्दका कारण शुक्रवार विहानैदेखि कुनैपनि सवारी साधन जिल्लाबाट बाहिरिन र भित्रिन पाएका छैनन् । बन्दका कारण बिहानैदेखि बाँकेको कोहलपुर, नेपालगन्ज, खजुरा, राँझा र कुसुम लगायतको क्षेत्रमा कुनै पनि सवारी साधन चलेका छैनन् भने पसल व्यवसाय उद्योग कल कारखाना सबै पूर्णरुपमा बन्द रहेकाछन् ।

लामो दुरीका सवारी साधन चल्ने महेन्द्र राजमार्ग पूर्णरुपले बन्द गरिएको छ । बन्दले सयौं सवारीसाधन बीच बाटोमै रोकिएका छन् । केही दिनदेखि शान्तिपूर्ण विरोध गर्दै आएको तरुणदल बाँके झन् कडारुपमा उत्रिएपछि बन्दको प्रभाव झन बढेको हो ।

बन्दका समर्थकहरुले विहानैदेखि सडकमा टायर बालि सवारी साधन लगायतमा अबरोध पु¥याउनुका साथै विद्यालय, कलेज, बजार सवै बन्द गराएका छन् ।

बन्दलाई मध्यनजर गरेर जिल्लामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । ठूलो संख्यामा नेपाल प्रहरीका अलावा सशस्त्र प्रहरीसहितको सुरक्षाकर्मी जिल्लामा परिचालित छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी वीर बहादुर ओलीले तरुणदलको अवरोधका कारण राजमार्ग पूर्णरुपमा बन्द भएपनि भित्रि भागका बजार खुल्ला रहेको जनाउँदै अवस्था शान्तिपूर्ण रहेको बताए ।

बन्दको सवैभन्दा बढि प्रभाव नेपालगन्ज र कोहलपुरमा परेको छ । बन्दकर्ताले सवारीसाधनमा अवरोध गर्दै सयौंको संख्यामा मोटरसाईकल, स्कुटर, अटो, ई-रिक्सा, जिप, कार लगायत सवारी साधनका साँचो थुतेर लिएका छन् । ती सवारी साधनलाई बेलुका ५ बजे पछि मात्र गुड्न दिने नेपाल तरुणदल बाँकेका अध्यक्ष विरेन्द्र बहादुर शाहले बताए ।

बन्दको कार्यक्रम थाहा हुदाँहुदै अटेरी गरि आएका सवारी साधनको साँचो नियन्त्रणमा लिएको जनाउँदै उनले विरामी, एम्बुलेन्स, पत्रकार र अन्य अत्यावश्यक काममा जानेलाई छोडिएको बताए ।

तरुण दलका नेपालगन्ज नगर सभापति सन्दीपजङ्ग शाहलाई गत कात्तिक १४ गते साँझ बाँकेको गनापुरमा रहेको नमस्ते रिसोर्टबाट प्रहरीले अवैध अमेरिकन पेस्तोल र २ थान गोलीसहित पक्राउ गरेको थियो । उनीसगैं राघव शाह, माधव नेपाली, जयबहादुर बुढा र प्रितम थापामगरलाई पनि हिरासतमा राखिएको छ ।

कोहलपुरका डिएसपी हेमबहादुर शाही नेतृत्वको टोलीले दसैँको बेला खसी मागेको तर, आफूहरुले नदिएको रिसको झोकमा शाहलाई फसाएको तरुण दल बाँकेको आरोप छ ।

खसी मागेको अडियोसमेत सार्वजनिक भएपछि डिएसपी शाही विवादमा तानिएका थिए । उनीमाथि प्रहरी प्रधान कार्यालय र प्रदेश ५ प्रहरीले छुट्टा-छुट्टै समिति बनाएर छानबिन गरिरहेको छ ।

टिप्पणी थप्नुहोस्