बाँकेमा कडाई गरिंदा बर्दियाबाट लागु औषध चरेस तस्करी

५८ किलो चरेससहित ५ जना प्रहरी नियन्त्रणमा

  • सिराज खान

नेपालगन्ज, १ मंसिर । नेपालगन्ज नाकामा प्रहरीले कडाई गरेपछि चरेस र ब्राउन सुगर जस्ता लागु औषधको तस्करीका लागि तस्करहरुले बर्दियाको नाकालाई प्रयोग गर्न थालेका छन् ।

पछिल्लो समयमा आएर सीमापारी जान थालेको चरेस र सीमा पारीबाट आउन थालेको ब्राउन सुगर लगायतका लागु औषधलाई बर्दिया प्रहरीले दिनदिनै नियन्त्रणमा लिन थालेको छ ।

सोही क्रममा पछिल्लो पटक बर्दिया प्रहरीले धेरै ठुलो परिमाणमा गुलरीयाबाट चरेससहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले ५८ किलो चरेससहित पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

चरेस सहित पक्राउ पर्नेमा पूर्वी रुकुमको खवाङ्ग घर भइ दाङको घोराही बस्ने ३४ वर्षीय राजकुमार पुनमगर, मुसिकोट नगरपालिका–१ घर भइ घोराही बस्ने २७ वर्षीया जुनतारा पुन, रुकुम घर भइ दाङमै बस्ने ३४ वर्षीया सुनथामी बुढामगर, रुकुम तक्सेर २६ वर्षीया अस्मिता रामजाली र रोल्पा पाछाबाङ घर भइ दुईखोली बस्ने २९ वर्षीय खीमप्रसाद रोकामगर रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

उनीहरुलाई विशेष सूचनाको आधारमा गुलरिया नगरपालिका–७ भन्सार रोडमा हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय गुलरीयाको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए । उनीहरुले चरेस नेपालगन्जबाट पार गर्न नसकेपछि गुलरीया हुँदै भारत लैजादै गर्दा पक्राउ परेको वलीले बताए । पक्राउ परेका व्यक्तिहरुबाट ५८ किलो चरेससहित नगद ३२ हजार ५९८ रुपैयाँ र ५ थान मोवाइलसमेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी निरीक्षक वलीले बताए ।

उनले चरेस कस्को हो र पक्राउ परेकाहरु भरिया हुन कि मालिक हुन सो बारेमा पनि अनुसन्धान भैरहेको बताएका छन् ।

यसैविच कोहलपुर इलाका प्रहरी कार्यालय कोहलपुरले बहुमुल्य जडिबुटी पाँच औले सहित तिन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र ५ नं. प्रदेश प्रहरी ब्यूरो दांगको टोलिले कोहलपुर नगरपालिका वडा नं. ११ लोक नगरबाट ३ किलो ७ सय मिलिग्राम पाँच औले जडिबुटी बरामद गरेको हो ।

बाटोमा हिडिरहेका ब्यक्तिहरुलाई शंकाको आधारमा खानतलासी गर्दा ठुलो परिमाणमा जडिबुटी फेला परेको प्रहरीले जनाएको छ ।

जडिबुटीसहित पक्राउ पर्नेमा जिल्ला कालिकोट पाचल झरना गाँउपालिका वडा नं. ५ बस्ने अग्र बम, जुम्ला जिल्ला हिमा गाँउपालिका वडा नं. ६ बस्ने यमराज अधिकारी र बाँके कोहलपुर नगरपालिका वडा नं. ११ बस्ने बिर बहादुर शाही रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ब्यक्तिहरुलाई आबश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोहलपुरको नियन्त्रणमा राखिएको छ । बरामद भएको पाँच औले जडिबुटी इलाका प्रहरी कार्यालयले जिल्ला बन कार्यालयमा बुझाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख हेम बहादुर शाहीले बताए ।

टिप्पणी थप्नुहोस्