शहर नभएको नयाँ ठाउँमा प्रदेश राजधानी

-राधेश्याम विश्वकर्मा

भैरहवा । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नागरिकलाई सबैभन्दा बढी सहजता र सुविधा रहेको स्थानमा प्रदेश ५ को राजधानी तोकिने बताएका छन् ।

जुन ठाउँमा पुग्यो त्यही ठाउँ प्रदेशको राजधानीका लागि उपयुक्त रहेको भनेर अभिव्यक्ति दिने गरेका प्रचण्ड यसअघि आलोचना खेप्दै आएका थिए । यसैबीच उनले प्रदेश ५ को राजधानीबारे बोली फेरेका हुन ।

उद्योग व्यापार संगठन रुपन्देहीको आयोजानामा मंगलबारदेखि भैरहवामा सुरु भएको पाँचौं लुम्बिनी पर्यटन प्रवद्र्धन, औद्योगिक व्यापार तथा कृषि महोत्सव २०७६ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले शहर नभएको नयाँ ठाउँमा पनि प्रदेशको राजधानी राख्न सकिने बताएका हुन् ।

उनले जहाँ गए पनि जिल्लागत रुपमा नागरिकहरुको भावना फरक पाइएकोले सबैभन्दा बढी सुविधा र सहजता जहाँ हुन्छ त्यही राजधानी तोकिने बताएका छन् । उनले पूर्वाधार विकास भइसकेको स्थानमा राजधानी राख्न आवश्यक नरहेको बताए ।

पूर्वाधार विकास भइसकेको स्थानमा राजधानी राख्न जरुरी छैन । ‘नयाँ ठाउँ’ मा राख्न सकिन्छ आफ्नो भनाई गलत ढंगले नबुझिदिन आग्रद गर्दै उनले भने, ‘छलफल गरेरै सबैले सहज हुने गरी राजधानी तोकिन्छ ।’

सरकारले उद्योगी व्यवासायीको अपेक्षा अनुसारको वातावरण नबनाएको गुनासो आफु समक्ष पुगेको भन्दै निजी क्षेत्रको विकासका लागि ऐन नियममा सुधार गरिने र पाँच वर्ष भित्र उद्योगीको अपेक्षा अनुसार काम हुने बताए ।

नेकपाका नेता एवं सांसद घनश्याम भुसालले विकासका लागि भारतसगँ सम्बन्ध राम्रो बनाउन आवश्यक रहेको बताए । उनले भारतले कालापानी दावी गरेर खडा भएको चुनौतीको लागि सबै एकै ठाउँमा उभिएर समाधान गर्न आवश्यक रहेको बताए ।

उद्योग व्यापार संगठन रुपन्देहीले मंसिर ३ गते देखी १६ गतेसम्म पाँचौं लुम्बिनी पर्यटन प्रबद्र्धन, औद्योगिक व्यापार तथा कृषि महोत्सव गरेको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री