समाजवादी पार्टीसंग तत्काल एकीकरण हुँदैन्

-राधेश्याम विश्वकर्मा

भैरहवा । राष्ट्रिय जनता पार्टीका राष्ट्रिय उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लले समाजवादी पार्टी र राजपाको एकिकरण प्रयास तत्कालको लागि पर सारिएको बताएका छन् ।

रूपन्देहीमा पार्टीको पहिलो जिल्ला अधिवेशनमा बोल्दै समाजवादी पार्टीको सरकारप्रति मोहको कारण तत्कालका लागी एकीकरण टाढा भएको शुक्लले बताए ।

उनले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएपछि मात्र जिल्ला अधिवेशन गर्ने मनसाय बनाए पनि समाजवादी पार्टीले सरकारप्रति देखाएको मोहका कारण एकीकरण तत्काल नहुने बताए । “यो समयलाई हामीले अधिकतम उपभोग गर्छौ, यही समयमा केन्द्रिय अधिवेशन पनि सम्पन्न गर्छौ,” शुक्लले भने “६ दल ६ टाउकोको रुपमा देखिएको पार्टीलाई एकीकरण गरेर एकल अध्यक्षको नेतृत्वमा ल्याउने छौं ।’

राष्ट्रिय जनता पार्टीको जिल्ला अधिवेशनबाट रवीरन्जन वर्मा अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका छन् । यसअघि राजपाको अध्यक्ष मण्डलको संयोजकको रुपमा रहेका वर्मा भैरहवामा सम्पन्न पार्टीको पहिलो जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

बुधबार सम्पन्न भएको अधिवेशनले अधिकांश पदाधिकारीलाई पनि निर्विरोध निर्वाचित गरेको छ । राजपाका राष्ट्रिय उपाध्यक्ष शुक्लले पार्टीका प्रायः पद निर्विरोध निर्वाचित भएको बताए ।

पार्टीको वरिष्ठ नेतामा मोहनलाल यादव, वरिष्ठ उपाध्यक्षमा महेन्द्र (प्रशान्त) गुप्ता र गणेश पाठक उपाध्यक्षमा अनिल अहमद खाँन र सचिवमा मोहम्मद ईस्लाम खाँन निर्वाचित भएका छन् ।

कोषाध्यक्ष पद महिलाको लागी भएकाले सो पद, केही उपाध्यक्ष र सदस्यहरुको टुंगो पनि एक साताभित्र नै लगाइने शुक्लले बताए । बिधान बमोजिम क्षेत्रिय समितिको सिफारिस अनुसार नै बाँकी पद चयन गरिने उनले बताए । उनले वडा अधिवेशनबाट सुरु गरिएको अधिवेशन अहिले जिल्लासम्म आइपुगेको र यसलाई मंसिरभित्र सकाउने तयारी भएको बताए ।

नवलपरासी, कपिलवस्तुमा अभिवेशन सम्पन्न भई सकेको जानकारी दिए । फागुनसम्म केन्द्रिय अधिवेशन सम्पन्न गर्ने तयारी भई रहेको पार्टीले जनाएको छ ।

टिप्पणी थप्नुहोस्