‘लिपुलेक र कालापानी लागि जस्तै कर तिर्न पनि एकजुट बनौं’

-सिराज खान

नेपालगन्ज । आन्तरिक राजस्व विभागको आयोजनामा सिस्नुपानी नेपालले शुरु गरेको देशव्यापी करमैत्री यात्रा बुधवार नेपालगन्ज पुगेको छ ।

गत कात्तिक २१ गते बनेपाबाट शुरु गरिएको सो यात्रा देशका १२ वटा ठूला शहरहरुमा पुगेर विभिन्न कार्यक्रम गरेर कर सचेतना फैलाउँदै नेपालगन्ज पुगेको हो ।

करमैत्री यात्राको स्वागत गर्दै करसचेतना फैलाउन बुधवार यहाँ आयोजना गरिएको बृहत्त कार्यक्रमको उद्घाटन नेपाल सरकारका सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले गरे । सो अवसरमा उनले कर तिर्नुलाई पनि राष्ट्रियतासंग जोड्नु पर्ने बताए ।

उनले जसरी हामी सबै लिपुलेक र कालापानीका लागि एकजुट भएर अगाडी बढेका छौं, त्यसरी नै कर तिर्नका लागि पनि अगाडी आउनु पर्ने बताए ।

देशको विकास, आर्थिक समृद्धि र नेपालीको खुशी कर र राजश्वसंग गाँसिएको जनाउँदै उनले कर र राजश्वबाटै विकास लगायत अन्य कामहरु संभव हुने बताए ।

‘कर र राजस्वबाटै देश विकासका अधिकांश काम हुन्छन्, गरिब र निमुखाले स्वास्थ्य, शिक्षा र अन्य सेवा सुविधा पाउँछन् । त्यसैले कर तिर्नु हामी सबैको पहिलो कर्तव्य हो’,उनले भने ।

हामी नेपालीले जुनसुकै कुरामा पनि विदेशीकै उदाहरण दिने गर्छौ भन्दै मन्त्री राईले कर तिर्ने कुरामा पनि विदेशीको अनुसरण गर्नु पर्ने बताए ।

सो अवसरमा सिसनुपानीका कलाकारहरुले गित, कविता र हास्यव्यंग मार्फत कर तिर्नुपर्ने सचेतना फैलाएका थिए ।
सो अवसरमा चर्चित हास्यब्यंग कलाकार मनोज गजुरेलले हास्यव्यंग मार्फत कर तिर्ने विशेष सन्देश दिएका थिए ।

उक्त अवसरमा सिस्नुपानी नेपालका शिशिर योगी, सरोज घिमिरे, लक्ष्मण, टंक, धिरेन्द्र प्रेमर्षी, अर्जुन पराजुली र कमलीकान्त भेटवाल लगायतले गित, कविता, नाटक र हास्यब्यंग मार्फत कर सचेतना फैलाउने प्रस्तुुतीहरु गरेका थिए ।

कार्यक्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य र आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख प्रकाश पौडेलले पनि करको महत्व बारे आफ्नो मन्तव्य राखेका थिए ।

कात्तिक २१ गते बनेपाबाट शुरु भएको सो करमैत्री देशव्यापी यात्राको १३ औं कार्यक्रम नेपालगञ्जमा गरिएको जनाउँदै सिस्नुपानी नेपालका सहसचिव सरोज घिमिरेले मंसिर ७ गते काठमाडौंमा पुगेर यात्राको समापन गरिने बताए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री