नवनियुक्त मन्त्रीहरुले लिए शपथ: पदभार ग्रहणपछि यस्ता प्रतिवद्धता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएकी छन् ।

शपथपछि आ–आफ्नो मन्त्रालय पुगेर पदभार सम्हाल्दै मन्त्रीहरुले केही प्रतिवद्धताहरु ब्यक्त गरेका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले विहीबार नियुक्त भएका मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् ।

शपथ लिने नयाँं मन्त्रीहरुमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ, कृषि तथा पशुपंक्षीमन्त्री घनश्याम भुषाल र उद्योग, वाणिज्य तथा आपू्र्ति मन्त्रीमा लेखराज भट्ट छन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन,प्रधानमन्त्री केपी शर्मा ओली, सुरक्षानिकायका प्रमुखलगायतको उपस्थिति थियो । यसअघि विहीबार नै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको सिफारिसमा मन्त्रिपरिषद पुनर्गठन गरेकी थिइन ।

पुनर्गठित मन्त्रिपरिषद्मा छ मन्त्री र तीन राज्यमन्त्री थपिएका छन् भने छ मन्त्री र तीन राज्यमन्त्रीलाई विदा गरिएको छ । दुई मन्त्रीहरुको जिम्मेवारी फेरबदल गरिएको छ ।

कसले के भने ?
पदभार ग्रहण गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले काठमाडौं उपत्यकाको सडक अवस्था बुझिसकेकाले चाँडै धुलोमुक्त बनाउने बताए । उनले सडक, रेल, पानीजहाज लगायतका पूर्वाधारका क्षेत्रमा व्यापक सुधार गर्दै कामलाई गति दिने बताए ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले राजनीतिक हस्तक्षेप बन्द गर्ने प्रतिबद्धता जनाए । कर्मचारीको सरुवा, बढुवालगायतका काममा हस्तक्षेपमा आफूलाई घृणा लाग्ने पनि उनले बताए । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सबैसँग सल्लाह गरेर अघि बढ्ने बचन दिए ।

त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पूर्वमन्त्रीले गरेका कामलाई निरन्तरता दिने बताएका छन् । उनले समयको माग अनुसार ‘उद्योग र पूर्वाधार समृद्धिको आधार’ भन्ने नारासहित काम गर्ने बताए ।

टिप्पणी थप्नुहोस्