तरुण दल बाँके कोषाध्यक्ष खड्का धरौटीमा रिहा

-सिराज खान
नेपालगन्ज । कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी हेम बहादुर शाहीले खसी मागेको बताउने तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्का अदालतबाट धरौटीमा रिहा भएका छन् ।

उनलाई केही दिन पहिले मात्र काठमाडौंबाट पक्राउ गरिएको थियो । गत २६ असोजमा खुकुरी प्रहार गरिएका लोकेन्द्र शाहीको घटनामा प्रतिवादी बनाइएका कोषाध्यक्ष खड्का विहीबार २ लाख ५ हजार धरौटीमा रिहा भएका हुन् । बाँके जिल्ला अदालतका न्यायाधीश दुर्गा भुसालको एकल इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

खड्का रिहा भएसँगै तरुण दल बाँकेले उनलाई पार्टी कार्यालयमा भब्य स्वागत गरेको थियो । गलत तरिकाले आफ्ना कार्यकर्तालाई प्रहरीले फसाउने किसिमले मुद्दा चलायो तर अदालतले खड्कालाई न्याय गरेको छ, तरुण दल बाँके अध्यक्ष बिरेन्द्र बहादुर शाहले भनेका छन् ।

केही हदसम्म भए पनि अदालले न्याय दिएपनि आफ्ना कार्यकर्ता सन्दिपजङ्ग शाहलाई भने अन्याय गरेको शाहले बताएका छन् ।

अवैध अमेरिकन पेस्तोलसहित पक्राउ परेका शाहलाई भने पूर्पक्षका लागि कारागार चलान गरिएको छ । शाहले सो हतियार आफ्नो नभएको र प्रहरीले फसाउनका लागि राख्न लगाएको जनाउँदै आएका छन् ।

नेपाली काँग्रेस र तरुण दल बाँकेले शाहको रिहाईका लागि विभिन्न चरणमा आन्दोलन गरेपनि अदालतले पूर्पक्षका लागि कारागाार चलान गरेपछि आन्दोलन मत्थर भएको छ ।

उता, तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्काले कोहलपुर प्रहरी प्रमुख डीएसपी शाहीले दसैंको बडा भोजका लागि खसी मागेको अडियो सार्वजनिक गरेपछि डिएसपी बिरुद्ध छानविन भैरहेको छ । उक्त विषयमा छानविन गर्न दुई वटा समितिहरु गठन गरिएका छन् ।

टिप्पणी थप्नुहोस्