अस्पतालका लागि अब अत्याधुनिक आकस्मिक भवन

-राधेश्याम विश्वकर्मा

भैरहवा । रुपन्देहीकै पुरानो अस्पतालको रुपमा रहेको भीम अस्पतालको कायापलट हुने भएको छ ।

जिल्लाको सरकारी अस्पताल अत्याधुनिक सेवा सुविधा सहितको आकस्मिक कक्ष सञ्चालन गर्ने भएको छ । लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले दुई करोड बढी लागतमा भवन र अन्य उपकरण जोडिदिने भएपछि जिल्लाका बिपन्न वर्गको स्वास्थ्य क्षेत्रमा पहुँच सहज हुने भएको छ । अहिलेपनि उक्त अस्पतालमा २४ घण्टे फार्मेसी सुविधा सहित सञ्चालनमा रहेको छ ।

लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठान काठमाडौं–७ सिफलचौरको सहयोगमा आकस्मिक भवन बन्ने भएको हो ।

सामाजिक संस्थाको रुपमा रहेको प्रतिष्ठानले स्वास्थ्य सेवामा पहुँच नभएका नागरिकहरुलाई पनि न्यूनतम सेवा सुविधा पु¥याउने उद्देश्यले भवन निर्माण गर्न लागेको संस्थाका अध्यक्ष शोभाखर न्यौपानेले बताए । भवन निर्माण गर्न करिब १ करोड ५० लाख, भवन निर्माणबाहेक उपकरणको लागि ७० देखि ९० लाख लाग्ने प्रतिष्ठानका महासचिव विष्णु प्रसाद न्यौपानेले बताए ।

त्यस्तै भवन र उपकरणसहित लागि २ करोड ५० लाखसम्म खर्च लाग्ने न्यौपानेले जानकारी दिए । “१ वर्ष सम्म भवन निर्माण गरेर अस्पतालाई चाबी हस्तान्तरण गर्ने लक्ष्य छ, इमरजेन्सी ब्लकमा सम्पूर्ण उपकरणहरु अत्याधुनिक रहनेछन्, त्यस्तै २ बेडसहितको आइसीयू रहनेछ जसमध्ये एउटै बेडको उपकरण सहित झण्डै १५ देखि २० लाखसम्म खर्च लाग्नेछ, हाल २ तल्ले भवन बन्ने र पछि ५ तल्लेसम्म उक्त भवन बनाउन सकिनेछ, उनले भने ।

सरकारी अस्पतालमध्ये भीम अस्पतालको आकस्मिक सेवालाई नमूना आकस्मिक सेवाको रुपमा रहने गरी लागेको उनले बताए । एक वर्षसम्म आकस्मिक भवनमा चाहिने उपकरण सहयोग गर्ने र त्यसपछि अस्पतालले व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । आकस्मिक भवनको शुक्रबार एक कार्यक्रमका बीच लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानका संरक्षक कुन्तीदेवी न्यौपानेले शिलान्यास गरिन्

कार्यक्रममा बोल्दै प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले सरकारी अस्पतालमा उपचार सम्भव छ भन्ने विरामीको मनोबल बढाउन मन्त्रालयले विभिन्न कार्यक्रमहरु अगाडी बढाएको बताए । उनले तीनै तहका सरकारले अस्पतालको उपचारात्मक सेवालाई सबै नागरिक समक्ष पुर्‍याउनुपर्ने बताए । खासगरी स्थानीय सरकारले विभिन्न उपकरणहरु सहयोग गरेर जिल्ला अस्पताललाई अपनत्व लिनुभएको छ, यो राम्रो कुरा हो, मन्त्री बरालले भने ।”

सबै जिल्ला अस्पतालमा कम्तीमा ४ बेड आइसीयु सेटअप गर्ने योजनाका लागि चाहिने जनशक्ति र उपकरणका बारेमा अध्ययन भइरहेको उनले बताए । सीमित बजेटलाई सदुपयोग गर्दै प्रदेशको स्वास्थ्य क्षेत्रलाई सुधार गर्दै जाने लक्ष्य रहेको उनले बताए ।

प्रदेश ५ का १२ जिल्लामा रहेको स्वास्थ्यसंग सम्बन्धित प्रतिष्ठानलाई एकीकृत योजनाको साथ अगाडी बढाइएको मन्त्री बरालको भनाइ थियो । उपचारात्मक सेवामा वैदेशिक सहयोग नहुँदा अपेक्षित रुपमा स्वास्थ्य सेवा सुधार गर्न नसकिएको उनले बताए ।

दातृ निकाय उदासिन हुँदा २०३५ सालदेखि मेडिकल उपकरणको अभावमा सरकारी अस्पताल सही ढंगले उपचारात्मक सेवा प्रभाव गर्न नसकिएको उनले बताए । जिल्ला समन्वय समिति रुपन्देहीका सभापति तथा भीम अस्पताल विकास समितिका अध्यक्ष एकराज विश्वकर्माले लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानको सहयोगले कल्पना गरिए भन्दा उच्चस्तरीय सेवा प्रदान गर्न भीम अस्पतालको आकस्मिक भवन अगाडी बढ्ने बताए ।

टिप्पणी थप्नुहोस्