लुम्बिनी महोत्सव: कुस्ती हेर्न झुम्मिए दर्शक

-राधेश्याम विश्वकर्मा

भैरहवा । मधेशमा लोकप्रिय रहेको कुस्ती प्रतियोगिता आयोजना भएपछि भैरहवामा जारी लुम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा दर्शकको घुइचो लागेको छ ।

विषेश गरी तराइ क्षेत्रमा बढी रुचाइएको उक्त खेलको अवलोकन गर्नको लागि रुपन्देहीको मर्चवार, लुम्बिनी, धकधई, नवलपरासी, कपिलवस्तु लगायत छिमेकी देश भारत सम्मबाट दर्शकहरु महोत्सवमा उपस्थित भएको मेला मुल आयोजक समिति सहसंयोजक तथा खेलकुद तथा स्वयमसेवक व्यवस्थापन उपसमिति संयोजक दर्पण श्रेष्ठले जानकारी दिए ।

तीन दिनसम्म प्रतियोगितामा भारतबाट १४ जना पुरुष खेलाडी सहभागी छन भने तीन जना महिला खेलाडी सहभागी भएको संयोजक श्रेष्ठले जानकारी दिए ।

त्यस्तै प्रतियोगितामा नेपालका बिभिन्न स्थानबाट नौं जना पुरुष खेलाडी सहभागी छन् । जस अन्तर्गत आइतबार भएका आठ खेलमा नेपाल र भारत बीच भएका दुवै खेलमा नेपाली खेलाडी विजयी भए । जसमा मानपकडी रुपन्देहीका खेलाडी लक्की थापा र मझौलीका अखलेश यादवबीच भएको प्रतियोगितामा लक्की थापा विजयी भएका छन् ।

त्यस्तै दोस्रो खेलमा भारतका राजेश पहलवान र नेपालका रणजीत थापा बीच भएको प्रतियोगितामा नेपालका थापा विजयी भएका थिए ।त्यस्तै भारतका चाँद पहलवान र राकेश पहलवान बीच भएको प्रतियोगितामा राकेश विजयी भएका छन् । अर्को खेलमा नेपालका जोगेन्द्र यादवले भारतका असोक पहलवानलाई पराजित गरेका छन् ।

भारतका गुड्डु पहलवान र पप्पु पहलवान बीच भएको खेलमा गुड्डु विजयी भए भने भारतका गोविन्द र मानसिंह बीच भएको प्रतियोगिता भने निर्धारित समयमा बराबरीमा रोकिएको थियो ।

त्यस्तैगरी भारतका सन्नी र सोनु पहलवान बीच भएको खेलपनि बराबरीमै रोकिएको थियो भने भारतकै सबली र सेरु पहलवान बीचको खेलमा सवलीले जित हात पारेको संयोजक श्रेष्ठले बताए । मंगलबार सम्म चल्ने उक्त प्रतियोगितामा सोमबार मात्र ११ प्रतिस्पर्धा हुने श्रेष्ठले जनाए ।

उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्स काठमाडौंको मुख्य आयोजनामा भैरहवाको अञ्चलपुरमा संचालन भइरहेको महोत्सवमा विभिन्न खेल लगायत राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतीले पनि दर्शकको ध्यान केन्द्रित गरेको छ ।

टिप्पणी थप्नुहोस्