प्रताप र प्रमोदले तताए, ‘भैया के साली’ले नचायो

भैरहवा । ‘भैरहवालाई तताउन धेरै गार्‍हो छ’ नेपाल आइडल पहिलो सिजनका तेस्रो बिजेता प्रताप दासको भनाई हो यो । वास्तवमा भैरहवामा हुने सांस्कृतिक कार्यक्रममा कलाकारले दर्शकको साथ पाए पनि माहौल तताउन सकेको पाइँदैन् । तर शनिबार भैरहवामा जारी लम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा भैरहवावासी झुमेर नाचेका छन् ।

मेलामा दर्शकको उपस्थिति हुन्न भन्नेलाई शनिबार भएको भिडले राम्रै जवाफ दिएको छ । शनिबार मात्रै २५ हजारभन्दा बढी दर्शकले मेलाको अवलोकन गरेको आयोजकको दावी छ । राम्रा कलाकार र स्थानिय बजारको प्रवद्र्धन हुने खालका सामाग्री भए मेलामा दर्शक तान्न गार्‍हो नहुने शनिबारको भिडले पुष्टि गरेको छ ।

शनिबार त्यसै भीडभाड त्यही माथी मेलामा आएका कलाकारहरुको प्रस्तुतीको कारण आयोजकलाई दर्शकको भीड थेग्न हम्मेहम्मे परेको थियो । बिरलै देखिन पाईने भोजपुरी कलाकारको पनि शनिबार प्रस्तुति रह्यो ।

वीरगन्जका प्रमोद जख्मीले आफ्नै एल्बम ‘भैया के साली’को गीतबाट शुरु गरेको गीतसंगै भैरहवाको माहौल तातिदै गएको थियो । ‘ठिक है’, ‘लालीपप लागेलु’ लगायत बिभिन्न भोजपुरी गीत प्रस्तुत गरेका जख्मीलाई भैरहवाका दर्शकले नाचेर साथ दिएका थिए । भोजपुरी गीतमा के पहाडी, के मधेशी दुवैको उत्तिकै जोश रहेको देखिन्थ्यो । उनले एक दर्जन बढी गीत गाएर भैरहवाका दर्शकको मन जितेका थिए ।

जख्मी लगत्तै कार्यक्रम संचालक खेमराज रेग्मीले हाँस्य कलाकार सुवोध गौतमलाई मञ्चमा बोलाएका थिए । प्रमोदसंगै झुमेको भैरहवावासी सुवोधको हास्यब्यंग्यमा रमाए । नेपालका चर्चित नेताहरुको क्यारिकेचर गरेका उनले देशको वर्तमान समस्याहरुलाई व्यङ्ग गरे ।

करिब ५ बजे नेपाल आईडल फेम प्रताप दास स्टेजमा आए । उनी स्टेजमा आए लगत्तै वरिपरि छरिएर रहेको भीड एकत्रित भयो र शुरु भयो प्रतापको जादु । अहिलेसम्म टिभीमा देखिएका र आफैले भोट गरेका प्रतापलाई नजिकै पाएपछि भैरहवावासीको अपनत्व उनीहरुको जोशमा देखिन्थ्यो ।

‘मोटरसाईकलमा’, ‘ए मेरो हजुर’, ‘तालको पानी’ लगायत दर्जन बढी गीत गाएर उनले दर्शकलाई हौस्याउँदै रहे । दर्शकहरु प्रतापलाई छोड्नै मानेका थिएनन् ।

साँझ पर्नैलाग्दा सबैले मोबाईलको टर्चलाई बालेर प्रतापको साथ दिएका थिए । आयोजकले प्रतापलाई अरु कलाकारको लागी स्टेज माग्दै गर्दा तल दर्शकदिर्घाबाट ‘वान्स मोर’ को हुटिङ्ग आइरह्यो । प्रताप पनि ‘लास्ट, लास्ट’ भन्दै दर्शकको मन बुझाई रहेका थिए । “भैरहवालाई तताउनै गार्‍ह्रो, लयमा आए पनि छोड्नै गार्‍ह्रो” अन्तिममा भन्दै उनी बाहिरिए।

शनिबारको भीड देखेरे आयोजक पनि हौसिएका छन् । ‘आगामी दिनमा पनि राम्रा राम्रा कलाकार र दर्शक तान्ने कार्यक्रमहरु ल्याएका छौं’ मेला आयोजक मुल समितिका संयोजक नारायण प्रसाद भण्डारीले भने

टिप्पणी थप्नुहोस्