‘चीनबाट पाइपलाइनमार्फत तेल ल्याउँछौं’

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकमा औद्योगिक वातावरण बनाउँदै कुल ग्राहस्थ उत्पादनमा अहिलेको भन्दा दोब्बर योगदान पुर्याउनेगरि आफूले काम गर्ने बताएका छन् । आगामी तीन वर्षभित्र चीनबाट पाइपलाइनमा नेपालमा तेल ल्याउनेपनि उनको दाबी छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री भट्टले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई पूरा गर्नको लागि आफू सक्रिय भएर लाग्ने बताउँदै उनले भने,‘यो नारामा ठूलो कुरा लुकेको छ, हामी यसलाई साकार पार्नको लागि दत्तचित्त भएर लागिरहेका छौं । जबसम्म जनता सुखी हुँदैनन्, तबसम्म मुलुक समृद्ध हुँदैनन् ।

मुलुक समृद्ध नभएसम्म फेरी जनता सुखी हुँदैनन् । यसमा द्वन्द्वात्मक सम्बन्ध छ ।’ मुलुक औद्योगीकरणको बाटोमा गैसकेको उनको भनाइ छ । उनले भने,‘कृषि, पर्यटन सबैलाई उद्योगको रुपमा विकास गर्छौं । हामी कृषिमा आत्मनिर्भर हुँदैछौं । त्यहीअनुसार कृषि मन्त्रालयले योजना र तयारी गरिरहेको छ ।’

साक्षात्कारमा बोल्दै उनले अहिले संचालनमा रहेका केही सरकारी रुग्ण उद्योगहरुलाई गतिका साथ सञ्चालनमा ल्याउने तयारीमा आफूहरु लागेको पनि सुनाए । ‘सरकारी उद्योगहरुले मुनाफा हासिल गर्न सकेका छैनन् । अब यसलाई मुनाफातर्फ लैजानको लागि हामी छलफल गरिरहेका छौं,’उनले भने ।

त्यस्तै, निजी क्षेत्रको लागि पनि औद्योगीकरणको वातावरण बनाउनको लागि आफूले आवश्यक पहल गरिरहेको मन्त्री भट्टले सुनाए । पछिल्लो समय मुलुकको व्यापार घाटा कम भैरहेको सुनाउँदै यत्तिमा नै आफूहरुले सन्तोष मान्नुपर्ने स्थिति भने नभएको उनको भनाई छ ।

उनले भने,‘कृषिमा हामी आत्मनिर्भर हुँदैछौं । कृषि मन्त्रालयसँग हामी समन्वय गर्दै अघि बढ्छौं । अरु, मन्त्रालयसँगपनि हामी समन्वय र छलफल गर्दै अघि बढ्छौं । आपूर्तिले नेपालमा आन्तरिकतर्फ ध्यान दिएर काम गर्छ भने वाणिज्यले भने बाहृय मुलुकसँगको व्यापारको लागि काम गर्छ ।’ उनले मुलुकमा औद्योगीकमैत्री वातावरण बनाउनको लागि आफ्नो पहिलो काम हुनेपनि विश्वास दिलाए ।

टिप्पणी थप्नुहोस्