उपनिर्वाचनको तयारी पूरा, ५३७ मतदान केन्द्र तय

काठमाडौं । यही मंसिर १४ गते शनिबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेनल गर्दै उपनिर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको हो ।

उपनिर्वाचन सम्पन्न गर्नका निम्ति आवश्यक निर्वाचन सामग्रीहरू सम्बन्धित जिल्ला र मतदान केन्द्रसम्म पुगिसकेको, मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारीको खटनपटन भइसकेको तथा गृह मन्त्रालयको संयोजकत्वमा सबै सुरक्षा निकायको सहभागितामा एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको जानकारी गराइयो ।

उपनिर्वाचन हुने ३७ जिल्लाका २४७ मतदान स्थल तथा ५३७ मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीलगायत सुरक्षाकर्मीहरू आवश्यक मतदानका सामग्रीहरूसहित मंगलबार साँझसम्म मतदान केन्द्रमा पुगी सक्ने पनि जानकारी गराइयो ।

उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यतर्फ ११ वटा, प्रदेशसभा सदस्यतर्फ १५ वटा र स्थानीय तहका सदस्यको लागि २० वटा राजनीतिक दल सहभागी भएका छन् ।

निर्वाचनका लागि मङ्सिर ११ गते बुधबार राती १२ बजेपछि मौन अवधि शुरु हुँदैछ । मौन अवधिमा कुनै पनि सञ्चार माध्यमबाट निर्वाचन प्रचार प्रसार कार्य गर्न नपाउने आयोगले जनाएको छ ।

मौन अवधिमा आफ्ना वेभसाइड, ट्वीटर, फेसबुक, भाइवर वा एसएमएसजस्ता सामाजिक संजाल वा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न निषेध गरिएको छ ।

त्यसैले मौन अवधिमा आचार संहिताको पूर्णपालना गरी निर्धक्करूपमा मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने अवस्था निर्माणका लागि आयोगले अपिल गरेको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री