भारतीय महिला संघद्वारा पशुपति मन्दिरलाई ट्याम्पो उपहार

काठमाडौं । भारतीय महिला संघले पशुपति क्षेत्र विकास कोषलाई दुईवटा विद्युतीय सवारी साधन प्रदान गरेको छ ।

संघकी अध्यक्ष नम्रिता पुरीले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई मन्दिर परिसरमै पुगेर उच्चगुणस्तरको लिथियम आयन ब्याट्रीजडित आठ सीट क्षमताको विद्युतीय सवारी साधन(ट्याम्पो) हस्तान्तरण गरेकी हुन् ।

भारतीय कम्पनी गयाम मोटर वर्कसले उत्पादन गरेको वातावरण मैत्री साधन मन्दिरको दर्शन गर्न आउने तीर्थयात्री र विशेष गरी महिला, बालबालिका, वृद्ध वृद्धा तथा अशक्त व्यक्तिहरुका लागि उपयुक्त हुने संघको दावी छ ।

सो अवसरमा भारत र नेपालका जनताबीच रहेको साँस्कृतिक तथा धार्मिक सम्बन्धलाई सुदृढ गर्नुका साथै दुई देशका जनतालाई अझ नजिक ल्याउन सवारीसाधनको हस्तान्तरण अर्को कोषेढुङ्गाको रुपमा रहनसक्ने संघकी अध्यक्ष पुरीको भनाइ छ ।

भारतीय राजदूतावासको संरक्षकत्वमा रहेको भारतीय महिला संघ भारतीय महिलाहरुको एक सङ्गठन हो जसले नेपालमा रहेका भारतीय महिलाहरुका क्षेत्रमा काम गर्दै आइरहेको छ । संघले नेपालमा महिला तथा बालबालिकालाई लक्षित गरी विभिन्न परोपकारी क्रियाकलापहरु पनि गर्दै आएको छ ।

हालै संघले काठमाडौंको नव ईन्द्र धनुष अंग्रेजी आवासीय विद्यालय, कोसेली फाउन्डेसन, बाल सारथी, नेपाली स्नेही काख र भक्तपुर क्यान्सर अस्पतालसँग मिलेर परोपकारी कार्यक्रमहरु संचालन गरेको छ ।

टिप्पणी थप्नुहोस्