सागको सबै तयारी पूरा: मन्त्री विश्वकर्मा

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंसिर १५ गतेबाट सुरु हुने १३ औं साग संचालन र व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले १३ औं साग संचालन र तयारीको सबै काम सम्पन्न भैसकेको जनाएका हुन् । उनले भने,‘मंसिर १५ गते साँझ ५ बजे दशरथ रंगशालामा राष्ट्रपतिज्यूले सागको समउद्घाटन गर्नुहुनेछ ।’
साक्षात्कारमा मन्त्री विश्वकर्माले अहिले देश तथा विदेशबाट सागमा भाग लिन आउने विशिष्ट पाहुना तथा अतिथिहरुलाई स्वागत गर्न आफूहरु व्यग्र प्रतिक्षामा रहेको बताए ।

१३ औं साग अन्तर्राष्ट्रिय महत्वको भएकोले नेपाल र नेपालीहरुको लागि पनि यो प्रतिष्ठा र गौरवको विषय भएको उनको भनाइ छ । साग खेलका केही खेलहरु हिजोबाटै सुरु भैसकेको पनि उनले जनाए ।

यो पटकको सागमा धेरैभन्दा धेरै पदक जित्नेगरी नेपालले तयारी गरेको सुनाउँदै उनले सागमा नतिजा राम्रै आउने विश्वास दिलाए । उनले उद्घाटन समारोहमा देशका ख्याँतिप्राप्त कलाकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र विद्यार्थीहरुको विशेष सांस्कृतिक प्रस्तुति हुने स्पष्ट पारे ।

सागलाई सफल तुल्याउनको लागि सबै क्षेत्रबाट साथ र सहयोग भएको भन्दै उनले धन्यवाद दिए । सागको समापन यही मंसिर २४ गते हुनेछ । सोही दिन विदेशी पाहुनाहरुलाई विदाई गरिने कार्यक्रम रहेको उनको भनाई छ । सागलाई नेपाल भ्रमण वर्ष–२०२० प्रर्वद्धन गर्ने रणनीतिक तयारीको रुपमा पनि लिईएको उनले बताए ।

प्रतियोगिता आयोजना हुने मुख्य शहरहरु काठमाडौं, पोखरा र जनकपुर आफैंमा ऐतिहासिक महत्व बोकेका ठाउँ भएको सुनाउँदै उनले पर्यटन प्रर्वद्धनमा सागले विशेष भूमिका खेल्ने बताए ।

टिप्पणी थप्नुहोस्