शीतलहरबाट बच्न नयाँ योजना

-राधेश्याम विश्वकर्मा

भैरहवा । तराईमा बढ्दो चिसोसंगै शीतलहरको जोखिम पनि बढ्दै गएको छ । शीतलहरबाट प्रभावितहरुको उद्दार र पूर्व तयारीको लागी जिल्ला विपद् ब्यवस्थापन समितिले विभिन्न कार्ययोजना अगाडी सारेको छ ।

सरोकारवाला कार्यालय तथा संघ संस्थाहरुको समन्वयबाट जिल्लालाई शीतलहरको जोखिमबाट बचाउन समितिले कार्ययोजना सारेको हो । यसको लागी समितिले जिल्लामा रहेका स्थानिय तह, सरककारी कार्यालय तथा संघ संस्थाहरुको कार्यबिभाजन गरेर उनीहरुलाई सोही अनुसारको काम गरिदिन आग्रह समेत गरेको छ ।

विहीबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको जिल्ला विपद् ब्यवस्थापन समितिको बैठकले सरोकारवाला निकायलाई शीतलहरबाट हुने प्रकोप न्यूनिकरणमा लाग्न आग्रह गरेको छ ।

बिपद् ब्यवस्थापन समितिको बैठकले गरेको कार्य बिभाजन अनुसार जिल्ला बिपद् ब्यवस्थापन समिति र स्थानिय विपद् ब्यवस्थापन समितिले जिल्ला प्रशासन कार्यालय र नेपाल रेडक्रस सोसाईटीको सहयोगमा पूर्व तयारी तथा पूर्व प्रवन्ध सम्बन्धि बैठकहरु गराउने उल्लेख रहेको छ ।

यस्तै सबै स्थानीय तहहरुलाई गरिब तथा विपन्न परिवार पहिचान गरि उनीहरुलाई इन्धन, दाउरा, कम्बल जस्ता न्यूनतम खोज तथा उद्दार सामाग्रीको प्रवन्ध गर्न आग्रह गरिएको जिल्ला बिपद् ब्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।

स्थानीय तहरुलाई आपतकाल अवस्थाको लागि आश्रय स्थलहरुको ब्यवस्था गर्न, शीतलहरबाट सुरक्षित रहन बिभिन्न सचेतनामूलक सामाग्रीहरु भाषामा संप्रेषण गर्न र बिपद्को लागी अत्यावश्यक सामाग्रीको मापदण्ड तयार गरि सो को ब्यवस्थापन गर्न पनि आग्रह गरेको छ ।

डिभिजन बन कार्यालयलाई जाडोका लागि चाहिने आवश्यक दाउरा तथा काठको प्रवन्धको जिम्मा दिइएको छ भने नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई जनशक्ति सहितको पूर्व तयारी अवस्थामा रहन् निर्देशन गरिएको संयोजक पन्थले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालयलाई स्वास्थ्यकर्मी तथा औषधीहरु सहितको द्रुत प्रतिकार समूह परिचालन गर्न एवम कृषि ज्ञान केन्द्र, भेटनरी अस्पताल तथा पशु स्वास्थ्य सेवा बिज्ञ केन्द्रलाई कृषि तथा पशुपंंक्षीमा हुन सक्ने क्षतिहरुको राहत र क्षतिपूर्तिको लागी तयार रहन् निर्देशन दिइएको छ ।

यस्तै जल तथा मौषम बिज्ञान कार्यालयलाई शीतलहर सम्बन्धि पूर्व सूचना प्रणालीको संचालन गर्न र रेडक्रस लगायत सबै गैर सरकारी संस्थाहरुलाइ स्थानिय स्तरमा गरिने कार्यक्रमहरुबारे जिल्ला ब्यवस्थापन समितिलाई जानकारी गराई मात्र गर्न आग्रह गरेको छ ।

ट्राफिक प्रहरीलाई कुहिरो तथा हुस्सुको समयमा सवारी दुर्घट्नाको न्यूनीकरणको उपाय अवलम्बन गर्न र शिक्षा विकास तथा समन्वय ईकाइलाई बिद्यालयहरुमा शीतलहरबाट बच्न बिद्यार्थीहरुलाई चेतनामूलक कार्यक्रम संचालन गर्न पूर्व तयारीको लागी आग्रह गरिएको छ ।

जिल्लामा हुने शीतलहरको प्रकोप कम गर्न सबै संयन्त्रलाई प्रयोग गरिने बिपद ब्यवस्थापन समितिका संयोजक महादेव पन्थले बताए । उनले तराईमा शीतलहरले धेरै नोक्सान गर्ने हुँदा यसबाट सचेत रहन तथा परेको समय अरुलाई पनि सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

टिप्पणी थप्नुहोस्