१५ बर्षमा एचआइभी र एड्सबाट १४५ जनाको मृत्यु

-सिराज खान
नेपालगन्ज । एचआइभी र एड्स रोगले पश्चिम नेपालको प्रमुख नाकाको रुपमा रहेको बाँकेलाई नराम्ररी प्रभावित पार्दै गएको छ । बाँकेमा हरेक बर्ष एचआइभी र एड्सका दर्जनौ नयाँ नयाँ विरामी फेला परिरहेका छन् ।

वर्षेनी नयाँ नयाँ विरामी थपिने क्रम बढ्दै गएकोले अवस्था जटिल बन्दै गएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

विश्व एड्स दिवसको अवसर पारेर विहीबार नेपालगन्जमा जिल्ला स्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको मिडिया अन्तरक्रिया तथा अभिमूखिकरण कार्यक्रममा सो बारेमा सरोकारवालाहरुले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

रोग लागेर बाँके जिल्लामा उपचार गराइरहेका मध्ये हालसम्म १४५ जनाको मृत्यु भैसकेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बताए ।

सन् २००४ देखि हालसम्म(१५ बर्षमा) बाँके जिल्लामा ११ सय १ जना एचआइभी र एड्सका विरामीहरु फेला परेको जनाउँदै प्रमुख शाहले ती मध्ये १४५ जनाको मृत्यु भैसकेको र १२२ जना बेपत्ता रहेको बताए ।

हाल भेरी अस्पताल नेपालगन्जमा ४६१ जना विरामीले नियमित औषधी सेवन गरिरहेको जनाउँदै ५१२ जनाले अन्य जिल्लास्थित अस्पतालहरुबाट औषधी लिएर सेवन गरिरहेको पनि उनले बताए ।

गत आर्थिक बर्ष २०७५–०७६ मा मात्र ८९ जना नयाँ रोगीहरु फेला परेको जनाउँदै उनले धेरै प्रयासहरु गरिंदै आएपनि रोगीहरु फेला पर्ने क्रम बढ्दै गएको बताए ।

एचआइभी र एड्स लागेका दम्पत्ति मध्येका १४ जना महिलाहरुले गत आर्थिक बर्षमा जन्माएका बच्चाहरु मध्ये १३ जनामा एचआइभी संक्रमण नदेखिएको जनाउँदै जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत अंगद बहादुर शाहीले उपचार र राम्रो निगरानीका कारण सो सफलता मिलेको सुनाए ।

यो निकै सराहनीय उपलब्धी हाँसिल भएको जनाउँदै एचआइभी र एड्स लागेका दम्पत्तिले पनि निरोगी बच्चा जन्माउन सक्छन् भन्ने प्रमाणित भएको शाहीको भनाई थियो ।

सो अवसरमा भेरी अस्पताल नेपालगन्जका एचआइभी र एड्स फोकल पर्सन डा. संकेत रिसालले एचआइभी र एड्सका बारेमा फैलिएका गलत प्रचारका बारेमा सेचत पार्दै कार्यक्रममा सहभागी पत्रकारहरुलाई रोगको परिचय, सर्ने तरिका, उपचार र हासिल भएका उपलब्धी बारे विस्तृत रुपमा जानकारी गराए ।

नेपाल सरकारले २०१६ देखि २०२१ सम्मका लागि तयार गरेको राष्टिय एचआइभी रणनिति योजना अन्र्तगत नै अहिले एचआइभी र एड्स नियन्त्रणका कार्यहरु संचालन भैरहेका छन् ।

अन्तरक्रिया तथा अभिमूखीकरण कार्यक्रममा सहभागि पत्रकारहरुले सो रोगका बारेमा आफुहरुलाई लागेका जिज्ञासाहरु सरोकारवालाहरु समक्ष राखेका थिए ।

टिप्पणी थप्नुहोस्