शेयर बजारलाई काठमाडौं मात्र सिमित नराख

-सिराज खान
नेपालगन्ज । शेयर बजारलाई संघिय राजधानी काठमाडौंमा मात्र सिमित नराख्न यस क्षेत्रका लगानीकर्ता तथा व्यवसायीले माग गरेका छन् ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले यहाँ आयोजना गरेको पूँजी बजार प्रवद्र्धन सम्बन्धि एक कार्यक्रममा सहभागि भएका स्थानीय लगानीकर्ताले सो माग गर्दै राजधानी बाहिरका विभिन्न ठुला शहरहरुमा पनि शेयर मार्केटका बारेमा जानकारी दिनु आवश्यक रहेको बताए ।

नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले केही समय पहिलेसम्म संघीय राजधानीमा मात्रै सिमित रहेको शेयर बजारलाई अहिले विस्तारै देशका विभिन्न भागमा विस्तार गर्न लागिएकोमा खुशी व्यक्त गर्दै यसले आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

शेयर मार्केटमा लगानी गर्नु पनि एक प्रकारको व्यवसायनै भएको जनाउँदै उनले अहिले आएर बाँकेका लगानीकर्ताहरु पनि शेयर बजारतर्फ आकर्षित भैरहेकोले यहाँ पनि शेयर बजारको सम्भावना राम्रो रहेको बताए ।

यस्तै लगानीकर्ता रवि श्रेष्ठले शेयर बजारमा पनि विभिन्न प्रकारका चलखेलहरु हुने गरेको जनाउँदै त्यस्ता चलखेलबाट लगानीकर्तालाई सचेत पार्ने जिम्मेवारी सम्बन्धित निकायको भएको बताए ।

सो अवसरमा बोल्दै धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले नेपालमा शेयर बजारप्रति लगानीकर्ताहरुको आकर्षण बढ्दै गएकोले यसको भविष्य उज्ज्वल रहेको जनाए । उनले पूँजीबजारको पवर्धनका लागि सम्बन्धित सबैले आ आफ्नो ठाउँबाट सक्रियतापूर्वक काम गर्नु पर्नेमा जोड दिए ।
निर्देशक गिरीले शेयर बजारलाई काठमाण्डौमा मात्र सिमित नराखिर प्रदेशहरुमा समेत बढाउनु पर्नेमा जोड दिए । उनले पूँजी बजारमा क्रमशः सुधारहरु हुँदै गएको जनाउँदै पछिल्लो समयमा आएर पूँजी बजार प्रविधिमैत्री हुनुका साथै लगानीकर्ताको आकर्षण पनि बढी रहेको बताए ।

सोही कार्यक्रममा बोल्दै नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अध्यक्ष लक्ष्मण न्यौपानेले क्रमशः पूँजी बजारको विस्तार र विकास हुँदै गएको जनाउँदै शेयर बजारप्रति ठुला मात्र नभई साना लगानीकर्ताको पनि आकर्षण बढी रहेको बताए ।

उनले पूँजी बजारको वर्तमान अवस्था र त्यसमा आएका समस्याहरु बारे स्थानीय लगानीकर्ताको राय सुझाव संकलन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

सोही अवसरमा बोल्दै नेपाल स्टक एक्सचेन्ज लिमिटेडका कार्यकारी प्रमुख अधिकृत चन्द्रसिंह साउदले नेपालमा पूँजी बजारको भविष्य निकै नै राम्रो रहेको कुरा लगानीकर्ताको बढ्दो उत्साहले नै प्रष्ट पारिरहेको जनाए ।

नेपालको पूँजी बजार पछिल्लो समयमा आएर प्रविधिमैत्री बन्दै गएकोले लगानीकर्ताको आकर्षण र उत्साह बढ्दै गएको जनाउँदै अहिले पूँजी बजारमा १५ लाख लगानीकर्ता रहेको समेत बताए ।

नेपाल राष्ट्र बैंक नेपालगन्ज शाखाका निर्देशक मुक्तिनाथ शर्माले निक्षेपकर्ताको हित र सुरक्षा गर्ने दायीत्व नेपाल राष्ट्र बैंकको रहेको जनाउँदै सोही कार्यका लागि बैंकले निरन्तर नियमन र अनुगमन गर्ने कार्य गरिरहेको बताए ।

ठुलो संख्यामा लगानीकर्ता, विभिन्न बैंक र वित्तिय संस्थाका अगुवाहरु तथा उद्योगी व्यवसायीको सहभागिता रहेको सो कार्यक्रममा अधिकांशले पूँजी बजारको अवस्था र समस्याका बारेमा आ आफ्ना जिज्ञासाहरु राखेका थिए ।

 

टिप्पणी थप्नुहोस्