प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई ‘अतिरञ्जित’ गरियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे तथ्यभन्दा पनि अतिरञ्जित कुरा मिडियामा बढी आएको भन्दै गुनासो पोखेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले मिडियालाई जिम्मेवार र उत्तरादायी पत्रकारिता गर्न आग्रह गरे । उनले भने,‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था सन्तोषप्रद ढंगले तिव्र गतिमा सुधार भएको छ ।

प्रधानमन्त्रीज्यूको निजी चिकित्सक र उहाँको उपचारमा संलग्न आधा दर्जन चिकित्सकहरुले पत्रकार सम्मेलन गरेर यथार्थ जानकारी गराउनुभएको छ । उहाँको अहिलेको स्थिति के छ ? भन्नेबारे उहाँहरुले सत्य, तथ्य सार्वजनिक गर्नुभएको छ । अर्को हप्ता उहाँ डिस्चार्ज हुनुहुनेछ ।’

साक्षात्कारमा बोल्दै उनले भने,‘प्रधानमन्त्रीले एपेन्डिसाईटिसको समस्या आकस्मिक रुपमा भोग्नुभयो । अहिले उहाँ पूर्ण स्वास्थ्य लाभको दिशामा अघि बढ्नुभएको छ । तर, सञ्चारमाध्यमबाट बढो तिलस्वी ढंगले, बढो नयाँ तथ्य प्राप्त गरेजस्तोगरि, बढो खोज गरेजस्तोगरी जे तथ्यहरु आएका छन्, ती सान्दर्भिक छैनन् ।’

उनले प्रधानमन्त्री ओली जेलमा हुँदापनि असाध्यै विरामी भएर निकै जीवन–मरणको दोसाँधबाट त्यो चरण पार गरेर २०४४ सालमा रिहाई भएको स्मरण गराए । उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे कथाहरु बुनिएको भन्दै गुनासो पोखे । उनले भने,‘कथा त चलचित्रलाई काम लाग्छ । तर, व्यवहारिक जीवनलाई त्यसले काम दिँदैन् । प्रधानमन्त्रीज्यू अस्पतालमा भर्ना हुनासाथ सिर्जना गरिएका डर र आतंकबाट पनि मिडिया अलि सच्चिनुपर्छ ।’

एपेन्डिसाईटीसको शल्यक्रिया सामान्य कुरा भएको बताउँदै उनले यसलाई अतिरञ्जित गर्न नहुने सुझाव दिए । त्यतिमात्रै नभएर प्रधानमन्त्रीलाई भेन्टिलेटरमा राखिएकोबारे मिडियाले एकदम ठूला अक्षरमा समाचार छापेकोप्रति टिप्पणी गरे । उनले मिडियामा गलत समाचार आएकोप्रति आक्रोश र असन्तुष्टिमात्रै पोखेनन् वैयक्तिक स्वतन्त्रतासम्बन्धी व्यवस्था गर्न बनेको ऐन–२०७५ पनि पत्रकारहरुलाई सुनाए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री