कांग्रेसको निर्मम चिरफार

कान्तिपुरको गत बिहिवार (२०७६ मंसिर १२ गते) प्रकाशित किशोर नेपालको यो लेख बहुचर्चित रह्यो । रुपान्तरणका पाठकहरुका लागि हामी उक्त लेख पुन: प्रकाशित गर्दैछौँ । 

यति बेला नेपालको राजनीतिक क्षितिजमा नकारात्मक संक्रमणको लहर चलेको छ । खास गरेर, देशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यो संक्रमणबाट सबैभन्दा बढी संक्रमित भएका छन् । आफूलाई जान्नेसुन्ने हुँ भन्ने जोकोही पनि व्यक्ति देउवाको नेतृत्वमा नेपाली कांग्रेसको कुनै भविष्य नभएको बताउँछ ।

नेपाली कांग्रेस देशको सबैभन्दा ठूलो लोकतान्त्रिक दल भएकाले यो प्रतिपक्षमा बसे पनि र सत्तामा बसे पनि यसमाथि मानिसहरूको भरोसा छ । आजका मितिमा किन त्यो भरोसा टुट्दै गएको छ ? यसका केही कारण छन् । पहिलो कारण हो, कांग्रेस गतिहीन भएको छ । यसले सामान्य जनताको ‘रेस्पोन्स’ गर्न छाडेको छ ।

यस्तो किन भएको छ ? यी कारणहरूमा ध्यान नदिई कांग्रेसमा अपेक्षित सुधार आउन सक्दैन । अहिले कांग्रेसका जति पनि ‘प्रमुख’ भनिने नेता छन्, रामचन्द्र पौडेलदेखि शशांक कोइरालासम्म, शेखर कोइरालादेखि कृष्ण सिटौला र त्यसभन्दा पनि परसम्म, समाजमा कुनै पनि नेताको साख र विश्वसनीयता प्रमाणित भएको छैन । तिनीहरूका बीच कुनै गम्भीर सैद्धान्तिक विवाद छैन । तैपनि तिनीहरू निरन्तर झगडामा छन् । झगडा भागबन्डा र लेनदेनको मात्रै छ । तिनीहरूको व्यक्तित्वमा गम्भीरता छैन ।

कांग्रेस सभापति देउवाकै कुरा गरौं । कास्की–२ पोखराको उपनिर्वाचनमा आफ्ना उम्मेदवारको प्रचारका सिलसिलामा मंसिर ७ गते सभापति देउवाले प्रधानमन्त्री केपी ओलीका बारेमा जे बोले र जसरी बोले, त्यो समीचीन थिएन । सभापति देउवाले त्यस्तो भाषण नेपाल विद्यार्थी संघका नेतामार्फत दिन लगाएको भए राम्रो हुन्थ्यो । देउवाले त्यस्तै भाषण, केही संशोधनसहित, धरानको उपनिर्वाचनमा पनि दोहोर्‍याए । समकालीन विश्वमा चलेको महत्त्वपूर्ण घटनाको हेक्का राखेर आफूलाई त्यस अनुसार तयार पार्ने आवश्यकता उनले देखेनन् । नेपालमा अहिले लोकतन्त्रमाथि संकटको कुरा छ । संघीयता अलपत्र परेको छ । गणतन्त्रको सञ्चालन राजतन्त्रात्मक पद्धतिबाट भैरहेको छ । नेपाललाई अहिले आफ्नो ‘अस्तित्वरक्षाको सुरक्षा’ चाहिएको छ । त्यसका लागि वर्तमान सरकारले पहल गर्न सकेको छैन । यस्तो अवस्थामा सभापति देउवा हलुका टिप्पणी गर्ने र विश्वप्रकाश शर्मा त्यसको प्रतिरक्षा गर्ने !

उमेरले ७५ हुन लागेका सभापति देउवाको बसोबास कांग्रेसका अन्य नेताको तुलनामा भव्यतम होला । त्यति सही तरिकाले कांग्रेसका कुनै नेता बसेका होलान्, स्तम्भकारलाई थाहा छैन । राजनीतिक समाजमा यो सम्भ्रान्त उपस्थितिले मात्रै सभापति देउवालाई ‘महान्’ बनाउँदैन । नेपाली कांग्रेस बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता ऐतिहासिक व्यक्तित्वले हाँकेको पार्टी हो । संगठनमा जोडदार पकड भएका गिरिजाप्रसाद कोइरालालाई समेत यो पार्टी हाँक्न समस्या परेको हो । सुशील कोइराला गिरिजाप्रसाद कोइरालाको संगठन कब्जा गरेर सभापति भएका हुन् र त्यसैका आधारमा प्रधानमन्त्री भएका हुन् । कांग्रेस राजनीतिमा सभापति देउवाको योगदानलाई कसैले इन्कार गर्न सक्दैन । उनी जमानाका ‘फाइटर’ हुन् । बीपी, किशुनजी र गणेशमान सिंहजस्ता जीवन्त नेताहरूले हाँकेको पार्टीलाई यहाँसम्म ल्याउन गिरिजाप्रसाद कोइरालाजस्ता ‘संगठन पुरुष’ लाई समेत हम्मे परेको हो । नेतृत्व एकाएक सुशील र शेरबहादुरको कब्जामा आउँदा जनताले सन्तोष लिन सकेन । सुशील दिवंगत भैसकेÙ उनको कुरा गर्नुको औचित्य छैन । ऐतिहासिक व्यक्तित्वहरूको नेतृत्वमा चलेको कांग्रेसमा देउवाको नेतृत्वमा मूल्य पद्धति टिक्न सकेन । यो पार्टीको स्वरूप बदलियो ।

हामीकहाँ मात्रै होइन, अहिले संसारभरि नै राजनीतिक संक्रमण चलिरहेको छ । आर्थिक शक्तिका रूपमा चीनको जबर्जस्त उत्थान र उत्कर्षले अघिल्ला मान्यतालाई उधिनिरहेको छ । बेलायत, जर्मनी, फ्रान्स लगायत युरोपका देशहरू संक्रमणको मारमा छन् भने, अमेरिकाको रिपब्लिकन सत्ता उत्तिकै संक्रमणमा छ । ल्याटिन अमेरिकी देशहरू, अफ्रिका र एसिया : संसारको कुनै देश यो संक्रमणबाट मुक्त छैन । नेपालले संघीय गणतन्त्रात्मक शासनको बाटोतर्फ पाइला चालेको दस वर्षमा नयाँ संक्रमण सुरु भएको छ भने, गणतन्त्र अघिको व्यवस्थाबाट अहिलेको व्यवस्थामा संक्रमणका तुष ‘यथावत्’ छन् । भारत र चीनको बीचमा रहेको सानो मुलुक भए पनि हाम्रो महत्त्व बढेको छ । भारतलाई आफ्नो पारम्परिक बजारमाथिको पकड खुस्किएला भन्ने डर छ भने, चीन नेपाललाई आफ्नो विस्तारको सहायक शक्ति बनाउन खोज्दै छ । यस्तो अवस्थाबारे कांग्रेसका नेताहरूले आपसी विवेचना र छलफल गरेको कतै सुनिँदैन ।

पछिल्लो समयमा कांग्रेसले आफ्नो संगठनमा ‘शक्ति–उन्मुख पद्धति’ अर्थात् ‘पावर ओरिएन्टेड सिस्टम’ लाई पछ्यायो । यसबाट समग्र पार्टी प्रभावित बन्यो । कांग्रेसमा आफ्नो योग्यताको धाक जमाइसकेका पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, विश्वप्रकाश शर्मा, गगन थापाजस्ता नेताहरू ‘लखेटिएका राणाजी’ को तहमा देखिए । उनीहरूमा देशका लागि र पार्टीका लागि केही गर्ने तमन्ना नभएको होइन । तर, उनीहरू शक्ति–उन्मुख पद्धतिबाट उम्किन सकेका छैनन् । त्यसैले उनीहरू चुपचाप बसेका देखिन्छन् । उनीहरूभित्र विद्रोहको ज्वालामुखी बल्दै छ कि निभिसक्यो ? त्यो थाहा भएको छैन । तर, परिस्थिति गम्भीर छ ।

सभापति देउवाको नाम विभिन्न थरीका काण्डसंँग जोडिन थालेको छ । हालै मात्र सामाजिक सञ्जालमा अनेक काण्डमा उनको नाम जोडिएको देखिएको छ । गएको चुनावताका आईजीपी काण्ड, प्रधानन्यायाधीश सुशीला कार्की काण्ड, हालसालै वाइडबडी जहाज घोटाला काण्डमा समेत उनको संलग्नता सुनिएको छ । कथा धारावाहिक छ । शैक्षिक क्षेत्रमा आर्थिक हस्तक्षेप पनि बूढानीलकण्ठबाटै हुने सुनिने गरेको छ । यी कथामा उनको संलग्नता नभएर उनको पारिवारिक संलग्नता मात्रै भएको हुन सक्छ । तर, मानिसले त्यसमा विश्वास गर्दैन । नैतिक रूपमा त्यो कतै टिक्दैन । केही वर्षअघिसम्म पनि राजनीतिमा ‘उठाउने’ धन्दाको अहिलेजति बिगबिगी थिएन । अहिले त यसको लहरै चलेको छ । जुन नेताले जति ‘उठाउन’ सक्यो, त्यो त्यति नै प्रभावशाली मानिन्छ ।

सामाजिक सञ्जाल र मूलधारका समाचारमा समेत जुन हिसाबले सभापति देउवाको चित्रण हुने गरेको छ, त्यो कदाचित् सभ्य नहोला । तर, जब राजनीति नै असभ्य मार्गमा प्रवेश गर्छ भने कुरा त्यहीं टुंगिन्छ । यो सही हो, देउवाले सभापति पद र सांसद पद भोटले जितेका हुन् । तर, उनमा प्रतिपक्षी नेताका हैसियतले देशका जल्दाबल्दा समस्यालाई सम्बोधन गर्ने प्रामाणिक क्षमता देखिएन । यो दु:खलाग्दो कुरा हो । सभापति देउवामा त्यो क्षमता नदेखिएपछि दोस्रो तहका वरिष्ठ नेता रामचन्द्र पौडेलमा त्यस्तो क्षमता देखिनुपर्ने हो । तर, पौडेलमा पनि त्यो खुबी देखिएन । कांग्रेसको चौखटमा अहिले जति पनि नेता देखिएका छन्, ती कसैमा पनि सामाजिक आकर्षणको तत्त्व छैन । यस्तो लाग्छ, अहिलेका यी नेताहरू एउटा जीवन्त इतिहासको संवाहक पार्टी चलाइरहेका छैनन्, एउटा घरेलु गुठीको व्यवस्थापन गर्दै छन् ।

अहिलेको राजनीतिमा अनुसन्धानको ठूलो महत्त्व छ । गएको चुनावमा नेपाल कम्युनिस्ट पार्टीले जनताको म्यान्डेट पायो । नेपाली कांग्रेस म्यान्डेटमा पराजित भयो । यो सामान्य तथ्य हो । यो तथ्यलाई कसैले इन्कार गर्न सक्दैन । चुनावमा नेकपा एमालेले आफैले ‘युद्ध अपराधी’ मानेको माओवादीसँंग हात मिलायो, कांग्रेसलाई टक्कर दिन । कांग्रेसले आफूसँंगै बसेर सरकार चलाइरहेको माओवादीलाई धकेलेर पन्छाइदियो । कांग्रेस नीतिको संस्थागत असफलता त्यही थियो । भन्नका लागि कांग्रेसका नेताहरू कांग्रेसका कार्यकर्ता माओवादीसँंगको गठबन्धनविरुद्ध उभिएको बताउँछन् । तर, त्यो दोष कार्यकर्ताको होइन, ती कार्यकर्तालाई सहमत गराउन नखोज्ने नेताहरूको हो । कांग्रेसमा उम्रिएका गुटहरूको दोष सभापति देउवालाई मात्रै दिन नमिल्ला । तर, गुटलाई संग्रालिनबाट रोक्न नसक्नु उनको अक्षमता हो । यसमा दुई मत नहोला ।

कांग्रेसको समस्या सभापति देउवा मात्रै होइनन्, चर्चा र चन्दा बटुल्न सक्षम छोटे नेताहरूको कांग्रेसमा बढ्दो प्रभुत्व पनि एउटा समस्या हो । पूरै पार्टी विश्वासहीनताको स्थितिमा हेलिनु अर्को समस्या हो । अहिलेकै अवस्था रहने हो भने, कांग्रेस नेताविहीन पार्टीका रूपमा रहनेछ । अहिलेका नेताहरू देउवासँंग असहमतिका बावजुद ‘कांग्रेसभित्र’ बस्न बाध्य भएका छन् । किनभने, विभाजन मूलबाटो होइन । अहिले कांग्रेसको नेतृत्व लिन्छु भन्ने व्यक्तिको समस्या भनेको लोकतन्त्रवादी जनमतको मनोबल कसरी बढाउने भन्ने हो । देश बनाउने चुनौतीको सामना गर्न सक्ने नेताको खोजीमा कांग्रेसजन लागेका छन् । तर, अन्तरिक्षमा चम्किलो र क्षमतावान् नक्षत्र देखिएको छैन ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री