विद्या भट्टराईको उदयमा खेमराजको बधाई

पोखरा । प्रतिनिधिसभा कास्की–२ को उपचुनावमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)की विद्या भट्टराई विजयी भएकी छन् ।

प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई आठ हजार बढी मतान्तरसहित पराजित गर्दै उनी विजयी बनेकी हुन ।

भट्टराईले २४ हजार ३ सय ९२ मत प्राप्त गरी विजयी हुँदा नेपाली काँग्रेसका निकटतम प्रतिस्पर्धी खेमराज पौडेलको पक्षमा १५ हजार ९ सय ८६ मत मात्र प्राप्त गरे ।

विजयी भएपछि भट्टराईले सबै मतदाता र शुभेच्छुकहरुलाई आभार ब्यक्त गर्दै मतदाता समक्ष गरेका बाचाहरु पुरा गर्ने र रवीन्द्र अधिकारीको योजनाहरु सफल बनाउने बताइन ।

शनिबार(हिजो) राती साढे १० बजेदेखि सुरु भएको मतगणना राजनीतिक दलहरुबीच शिलबन्दी रुजुको विषयमा विवाद भएपछि साढे एकमा मात्रै सुरु भएको थियो ।

यसअघिको निर्वाचनमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजित गरेका थिए ।

जितसँगै नेकपाले कास्की–२ मा आफ्नो किल्ला कायम राख्न सफल भएको छ । विजयी भएसँगै विद्यालाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले खादा ओढाएर बधाई दिएका छन् ।

साथै उनले भोट नहालेका जनताको भावनालाई पनि कदर गर्न आग्रह गरे । पौडेलले हार स्वीकार गर्दै मार्मिक ट्वीट पनि गरेका छन् ।

उनले भनेका छन्, ‘सम्झिदिनु एक निष्ठावान मान्छे चुनाव हारेर पनि हाँस्दै गयो, जुन प्रक्रियाका लागि अर्पित थियो मेरो जीवन। म ईमानदार रहनेछु कास्कीको म प्रत्येक मत, अनि देशविदेशका हरेकको मायाप्रति। राजनीति जितें, मत जितिनँ तर सायद मन जितें कि जस्तो लाग्छ । विजयी नानीलाई हृदयले बधाई-राम्रो गर्नु।’

कांग्रेसका उम्मेदवार पौडेल नेपालको लोकतान्त्रिक आन्दोलनमा ६ दशक लामो संघर्ष गरेका परिपक्व र खारिएका नेता हुन् । नेकपा उम्मेदवार विद्या भट्टराई स्वर्गीय पर्यटनमन्त्री रविन्द्र अधिकारीकी पत्नी हुन् । पर्यटनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्युभएपछि कास्की–२ मा उपनिर्वाचन भएको हो ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री