लुम्बिनी पुगेका पर्यटकलाई गैडहवा ताल घुमाइने

-राधेश्याम विश्वकर्मा

भैरहवा । गाउँपालिकाकै प्रमुख गन्तब्य स्थान भएपछि गैडहवा गाउँपालिका अहिले गैडहवा ताल संरक्षण अभियानमा जुटेको छ । तालकै नामाबाट गाउँपालिकाको नाम परेपनि अहिलेसम्म संरक्षणको अभाव खेपिरहेको गैडहवा ताल बिस्तारै मुहार फेर्दैछ ।

पहिला तालमा रहेको जलकुम्भीको स्थानमा अहिले सफा पानीले लिएको छ । पिकनिक स्थल तयार भएका छन् । शहिदहरुको स्मृतिमा शहिद पार्क पनि तालको छेउमै तयार भएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई ताल घुमाउने उद्देश्य सहित गैडहवा गाउँपालिकाले सिमसार क्षेत्रमा सूचीकृत र मानव निर्मित गैडहवा तालको संरक्षण सुरु गरेको छ  । पर्यटकलाई तालको जानकारी दिन र प्रवद्र्धन गर्न साथै जल पर्यटनको लागि संरक्षण थालिएको गाउँपालिका अध्यक्ष बच्चुलाल केवटले बताए  ।

ताल बुद्धजन्मस्थल लुम्बिनीबाट १२ किलोमिटर र जिल्ला सदरमुकाम भैरहवाबाट करिब ३० किलोमिटरको दूरीमा छ  । शुरुका बर्षमा तालको संरक्षणको लागी न्यून बजेट छुट्टयाए पनि यस बर्ष भने ३० लाख बजेट गैडहवा तालको प्रचार प्रसार गर्न बिनियोजित गरिएको छ ।

यसबाट चालु आर्थिक बर्षमै गैडहवा ताल महोत्सव गरि तालबारे सबैलाई जानकारी गराइने गाउँपालिकाको योजना रहेको छ । यससंगै निकट भवियमै तालमा डुंगा संचालन गरी पर्यटकीय स्थलको रुपमा अगाडी बढाईने गाउँपालिका अध्यक्ष केवटले बताए ।

स्थानीयहरुका अनुसार जिल्लाकै ठूलो ताल गैडहवाले अपार संभावनाहरु बोकेको छ । तर यहाँ आउनलाई राम्रो बाटो छ्रैन् । सुविधायुक्त र सजिलो बाटो निर्माण गरी तालको बिचमा बुद्धको मूर्ति राख्न सके लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई गैडहवा तालसम्म आकर्षित गर्न सकिने स्थानिय अगुवा चित्र बहादुर सारु बताउँछन् । सुरुमा गैडाहरुले आहाल खेल्ने ठाउँ भएको हुँदा यसको नाम गैडहवा ताल भएको स्थानीयहरुको भनाई छ ।

स्थानीय रमापति मल्ललाहले तालको उचित ब्यवस्थापन हुनसके गाउँपालिकाको मात्रै नभई जिल्लाकै पर्यटकीय केन्द्रको रुपमा यसका विकास हुन सक्ने सम्भावन रहेको बताए । उनले तालको विकाससंगै स्थानीयले रोजगारी तथा आयस्तर समेत बढने भएकोले यसको बिकासमा सम्बन्धित निकायले सुनुवाई गर्न आग्रह गरे ।

गाउँपालिका अध्यक्ष बच्चुलाल केवटले पनि अहिले तालको गुरुयोजना बनाई संघ, प्रदेश र स्थानीयको लगानी लगाउने प्रयास भैरहेको बताए । यसको लागी डिपिआर समेत तयार भई सकेको छ । यसमा करिब ४० करोड खर्च अनुमान भएको उनले जानकारी दिए । गुरुयोजनामा बहुउद्देश्यीय हल, पानीका फोहरा सहितका आकर्षक पार्क, तालको चारैतर्फ बाटो, फुटपाथको परिकल्पना गरिएको छ ।

ताल स्थानीय बलिराम यादवले बनाएका हुन । ८४ बिघा क्षेत्रफलमा फैलिएको तालको ५० बिघा जलाशय क्षेत्र छ  । पर्यटन मन्त्रालयले गरेको अध्ययनअनुसार तालमा दुईसय प्रजातिका चराचुरुंगी पाइन्छन् । घस्रने प्रजातिका २० छन् , नेपालका अन्य ठाउँमा नपाइने ‘इन्डियन आई टटल’ पनि तालमा पाइन्छ  ।

तालको उत्तरपट्टि जटायु रेस्टुराँ छ  । त्यसमा हिमाली गिद्ध, सुन, राज, सानो खैरो, खैरो, गोब्रे लगायत लोपोन्मुख गिद्ध संरक्षण गरिएको छ । धार्मिक मात्रै होइन, लुम्बिनीमा अध्ययन र मनोरञ्जनका लागि आउने पर्यटकहरुका लागी पनि संभावन बोकेको स्थल हो ।

ताललाई तीनतिरबाट जंगलले घेरेको छ  । तालको संरक्षणसंगै यहाँ गर्मी र कोलाहल छल्न जाने आन्तरिक पर्यटक बढ्नेछन् । ताल आसपासमा चौधरी र मगर बस्ती छ  । यी बस्तीलाई होमस्टे बनाउने अर्को योजना छ  । पर्यटकलाई गाउँमै बास बसाल्न र बसाइँ अवधि बढाउन गाउँपालिकाले यस्तो योजना अघि सारेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी घिमिरेले जानकारी दिए ।

टिप्पणी थप्नुहोस्