‘श्रीमान कुटपिट गर्छन, प्रहरी उल्टै धम्क्याउँछ’

-सिराज खान

नेपालगन्ज । पतिको कुटाई र उनको घरपरिवारबाट भएको घरेलु हिंसा सहन नसकेर न्यायका लागि तीन महिनादेखि प्रहरीलाई गुहार्दै आएपनि न्याय नपाएको गुनासो यहाँ एक महिलाले गरेकी छन् ।

न्याय पाउने उद्देश्यले पिडक विरुद्ध मुद्दा दर्ता गर्न तीन महिनादेखि बाँकेको प्रहरी कार्यालयमा जाँदा बारम्बार आफूलाई उल्टै प्रहरीले धम्काएर पठाउने गरेको बाँके जानकी गाउँपालिका–४ की भगवन्ती मिश्राले गुनासो गरेकी छन् ।

पतिले बारम्बार कुटपिट गर्दै आएको र उनको घरपरिवारका अन्य सदस्यले पनि हिंसा गर्दै आएकोले सहन नसकेर न्यायका लागि बारम्बार प्रहरी कहाँ धाउँदा पनि कुनै सुनवाई नगरेको उनको दुखेसो छ ।

वि.स.२०७६ साल फागुन महिनामा भगवन्ती मिश्राको नेपालगन्ज उपमहानगरपालिका– १ बस्ने विवेक कुमार मिश्रासंग मागी विवाह भएको थियो । विवाह गरेको केही दिनपछि नै उनीहरुबीच विवाद सुरु हुन थाल्यो ।

‘विवाह गरेको केहीदिनदेखि नै पतीले हदै अपमान गर्न थाले, राम्ररी बस्न पनि पाइँन । दिनहुँ पतिको कुटाई र दवाव सहन नसकेर न्यायको लागि बाटो खोज्न हिडेको हुँ,’ उनले भनिन् ।

पतिको कुटाईले बेहोस हुँदा समेत वास्ता नगरेपछि माइतीतिरका आमाबुवा र दाजुभाईहरुले औषधी गर्ने गरेको पनि मिश्राले बताइन् । न्यायको लागि सबैलाई गुहारेपनि कसैले साथ नदिएको उनको भनाई छ ।

‘अदालतले मुद्दा दर्ता गर्न आदेश दिंदा पनि प्रहरी कार्यालयले मुद्दा दर्ता गर्न मान्दैन गरिब दुःखीका लागि न्यायिक ठाउँ कतै रहेनछ’, मिश्राले भनिन् । श्रीमान भारतीय हो भन्दै प्रहरीले बारम्बार फिर्ता पठाउने गरेको उनले जानकारी दिइन् । विवाह गरेको फोटो, भिडियो चक्का, विवाह गर्दा दिएको दाइजो, मोटरसाईकल लगायत थुप्रै प्रमाणहरु देखाउँदा पनि सुनुवाई नगरिएको मिश्राको भनाई छ ।

छोरीको विवाह गर्दा दुई कठ्ठा जग्गा बेचेर नगद तीन लाख रुपैंयाँ र मोटरसाईकल दिएको भगवन्तीका पिता माता प्रसाद मिश्राले बताए । ‘विवाहमा थुप्रै खर्च भयो अहिले छोरीलाई अस्वीकार गरेपछि आफुहरु न्याय खोज्दै हिंडेको’, माता प्रसादले भने, ‘दाईजोमा अपुग भएकै कारण छोरीलाई बारम्बार कुटपिट र भगाउने गरेका छन् ।’

अदालतको आदेशलाई पनि प्रहरीले पालना नगर्दा पीडितलाई प्रहरीले अन्याय नै गरेको अधिवक्ता विश्वजित तिवारीले बताए । कानुनी प्रक्रिया पुर्‍याई जाहेरीको लागि मुद्दा दर्ता आदेश दिंदा पनि प्रहरी कार्यालयले नमानेको उनले जनाए ।

सो बारेमा जानकारी माग्दा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी शिव बहादुर सिंहले जिल्ला प्रहरी कार्यालयमा महिला हिंसा सम्बन्धि मुद्दा आउने वित्तिकै प्रहरीले आफैं सहयोग गर्ने गरेको जनाउँदै कसैलाई अन्याय नगरिएको प्रतिक्रिया दिए । उनले सो बारेमा आफुले बुझेर कारवाही प्रक्रिया अगाडी बढाउने पनि बताएका छन् ।

टिप्पणी थप्नुहोस्