नीजि गुठी गुठियारकै सम्पत्ति

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार गुठीको सम्पत्ति जोगाउने अभियानमा रहेको बताएकी छन्। मन्त्री अर्यालले नीजि गुठीका सन्दर्भमा गुठियारले भनेअनुसार नै अगाडी बढिने बताइन ।

सरकारले गुठीको विषय समेटिएको एकिकृत भूमि ऐन ल्याउन लागेको सन्दर्भमा गुठी विधेयकविरुद्ध एकीकृत आन्दोलन समितिले आज (विहीबार) मन्त्री अर्याललाई ध्यानाकर्षण गराउन मन्त्रालय पुगेका गुठी बचाउ अभियानका अगुवाहरूलाई सम्बोधन गर्दै त्यस्तो बताएकी हुन् ।

मन्त्री अर्यालले नीजि गुठीको सन्दर्भमा सरकारले धेरै चासो नदिने बताउँदै गुठी संस्थानले हेर्दै आएको बाँकी गुठीलाई सुशासन कायम गर्दै व्यवस्थित गरिने बताइन । ‘नीजि गुठीको हकमा यो नै यसको समाधान हो भनेर तपाइहरूले ल्याएको कुरा नै हामी ओके गरेर जान्छौ । बाँकी गुठी संस्थानले हेरेका गुठीका हकमा तपाइहरूले धेरै चासो नदिनुहोला’, मन्त्री अर्यालले भनिन,‘हामी गुठीको सम्पत्ति जोगाउने अभियानमा छौ । सुशासन कायम गर्ने अभियानमा राज्य हो । यो जनता राष्ट्रकै निम्ती फाइदा हुने कुरा हो ।’

गुठीको समस्या अब लामो समय नरहने भन्दै मन्त्री अर्यालले छिट्टै सरकारले यसको समाधान गर्ने बताइन । विगतको गुठी विधेयकमा पनि गुठी संस्थानले हेरेको तीनवटा गुठी व्यवस्थित गर्ने कुरामा मन्त्रालय केन्द्रित भएको भन्दै उनले निजी गुठी निजी गुठियाराकै सम्पत्ति भएको बताइन ।

गुठी संस्थानले हेर्दै आएको गुठी क्षतविक्षत भएको भन्दै सरकारको सम्पत्तिको रक्षा गर्न सरकार लागेको उनले बताइन ।
गुठीलाई कानुनबाट नै व्यवस्थित गरौं भनेर जाँउ भन्ने मनसाय भएपनि नीजि गुठियारा र सरकारको भावना भेट नहुँदा विगतमा स्थिती तनावपुर्ण बनेको बताइन ।

त्यस अवसरमा ध्यानाकर्षणपत्र बुझाउँदै गुठी विधेयकविरुद्ध एकीकृत आन्दोलनका संयोजक डा.महेशमान शाक्यले यसपटक विधेयक ल्याउन सरोकारवाला सबैसँग छलफल गरेर मात्र अगाडी बढ्न आग्रह गरे ।

टिप्पणी थप्नुहोस्