अन्तर्घात गर्नेलाई कारवाही हुन्छ: सभापति देउवा

-राधेश्याम विश्वकर्मा

भैरहवा । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले उपनिर्वाचनमा अन्तर्घात गर्नेलाई कारवाही गर्ने बताएका छन् ।

नेपाली कांग्रेस सिद्धार्थनगर नगर समितिको दोस्रो नगर भेला तथा व्हील चियर वितरण कार्यक्रममा सम्बोधन गर्दै देउवाले पार्टीमा अन्तर्घात रहेसम्म चुनावमा कहिल्यै सफल नहुने भन्दैै यस्तालाई कारवाही गर्नुपर्ने बताए । उनले अन्तर्घातीलाई कारवाही नगरेसम्म पार्टीमा सबै कार्यकर्ताहरु मरिमेटेर नलाग्ने र जिताउनकै लागि प्रतिस्पर्धा नहुने बताए ।

यस्तै उनले दाङ र पोखरामा कांग्रेस हार्नुको कारणको समीक्षा पनि गरिने बताए । दुवै ठाउँमा महिलाले जित्नुमा सहानुभूति फ्याक्टरले काम गरेको हो कि अन्य कुनै कारण छ यसको समीक्षा हुन्छ भने ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले वर्तमान सरकारले मुलुकको जनताको ईच्छा र आकांक्षालाई पूरा गर्न नसकेको बताए ।

अहिले ओलीले ‘संविधान च्यात्न’ खोजेको र संविधानमा भएका प्रावधानहरु उल्टाउन खोजेको समेत उनले आरोप लगाए ।

नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रजाकले वर्तमान सरकारले विकास र समृद्धिको नाममा जनतालाई झुक्काई रहेको बताए ।

कांग्रेस सिद्धार्थनगर सभापति दिलिप धितालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर भित्रका पाँच जना अपाङ्गहरुलाई व्हील चियर वितरण गरिएको थियो ।

यस्तै सोही कार्यक्रममा नगर भित्रका अति विपन्न ४४ जना बिद्यार्थीहरुलाई साईकल समेत वितरण गरिएको कार्यक्रम संयोजक राजकुमार गुप्ताले जानकारी दिए ।

टिप्पणी थप्नुहोस्