दिल्लीस्थित एक भवनमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित एउटा भवनमा भएको आगलागी परेर ४० जनाको मृत्यु भएको छ ।

दिल्ली दमकल विभागका प्रमुख अतुल गर्गले ६३ जनालाई घटनास्थलबाट निकालिएको र ती मध्ये ४३ जनाको मृत्यु भएको जानकारी वीबीसीलाई दिएका छन् ।  घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

नयाँदिल्लीस्थित झाँसी रोडमा रहेको खाद्यान्न गोदाममा आगलागी हुँदा त्यहाँ रहेकाहरुको निसास्सिएर मृत्यु भएको हो ।

सो स्टोरभित्र अझै धेरै मानिस फसेको हुन सक्ने आशंकामा खोजी भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्  ।मृत्यु हुनेमा दिल्ली बाहिरबाट आएका काम गर्ने मजदुरहरू रहेको जनाइएको छ ।

आगो नियन्त्रणमा लिन ३० वटा दमकल परिचालन गरिएको थियो । घटनास्थल पुगेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मृतकका परिवारलाई राहत स्वरुप १०/१० लाख भारु दिने घोषणा गरेका छन्।

आगलागी भएको क्षेत्र साँघुरो गल्लीभित्र भएकाले दमकललाई आगो निभाउन समय लागेको अधिकारीहरूले बताएका छन् । मजदुरहरु सुतिरहेका बेलामा आगो लागेकाले पनि धेरै मानवीय क्षति भएको जनाइएको छ ।

ज्यान गुमाउनेहरूमा धेरैजसो १५ देखि २० वर्षका रहेको नाम खुलाउन नचाहने एक प्रहरी अधिकारीले बीबीसीलाई बताए ।(बीबीसीबाट)

टिप्पणी थप्नुहोस्