कोहलपुरमा कर्फ्यू : घाइतेलाई काठमाडौं पठाइयो

सिराज खान
नेपालगन्ज । विद्यार्थी आन्दोलनले उग्ररुप लिंदै गएपछि कोहलपुरमा स्थानीय प्रशासनले दिउँसो तीन बजेदेखि अनिश्चितकालिन कर्फ्यु लगाएको छ ।

कोहलपुर १० स्थित त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई ट्रकले किचेर गम्भीर घाइते बनाएको घटनाले उग्र रुप लिदैं गएपछि कोहलपुरमा अनिश्चितकालिन कर्फ्यु लगाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिरबहादुर वलीले बताए ।

कोहलपुरको सुरक्षा ब्यवस्थालाई मध्यनजर गर्दै कर्फ्यु लगाउने निर्णय गरीएको उनले जानकारी दिए । जिल्ला सुरक्षा समितिको बैठकले अवस्थालाई सामान्य पार्न कोहलपुरमा कर्फ्यु लगाउने निर्णय गरेको थियो ।

कर्फ्यूको निर्णय गरिएलगत्तै स्थानिय सर्वसाधारणलाई माईकिङ गरेर आ-आफ्नो घर जान आग्रह गरीएको प्रहरी प्रमुख वलीले बताए । यसैविच ट्रकले किचेर गम्भीर घाइते भएकी चन्दलाई थप उपचारका लागि सेनाको हेलिकोप्टरबाट अपरान्ह राजधानी काठमाडौं पठाएको छ । उनका साथै प्रहरीको गोली लागेर घाइते भएका दुई जना विद्यार्थीलाई पनि राजधानी लगिएको जनाइएको छ ।

सो घटनामा कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेम बहादुर शाही लगायत एक दर्जन प्रहरीहरु पनि घाइते भएका छन् । घाइतेहरुको उपचार कोहलपुर स्थित शिक्षण अस्पतालमा भैरहेको छ । सहपाठीलाई ट्रकले किचेपछि आन्दोलनमा उत्रिएका विद्याथीहरुले प्रहरीलाई नै आक्रमण गर्न थालेपछि अवस्था नियन्त्रण बाहिर गएको थियोे ।

आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले एकसय राउण्ड बढी हवाई फायर गरेको थियो भने दर्जनौ राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको थियो । प्रहरीले चलाएको गोली लागी २ जना विद्यार्थी गम्भीर घाईते भएका छन । भने अन्य २४ जना विद्यार्थिहरु पनि घाइते भएका छन् ।

प्रहरीले विद्यालयमा छिरेर विद्यार्थीलाई तानेर लगेको तथा उनिहरुलाई यातना दिएको त्रिभुवन उच्च माध्यामिक विद्यालयका शिक्षकहरुले बताएका छन् । प्रहरी प्रशासनको ज्यादतीकै कारण घट्नाले ठुलो रुप लिएको स्थानीय बासिन्दाको आरोप छ । प्रहरीले सम्झाई बुझाई गर्नुको साटो उल्टै विद्यार्थीलाई उक्साउने काम गरेको अधिकांशले जनाएका छन् ।

आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा त्रिभुवन उच्च माध्यामिक विद्यालयमा अध्ययनरत कोहलपुर–१० की प्रकृति चन्दलाई ट्रकले किचेको थियो । घट्नापछि कोहलपुर दिनभरी आन्दोलनमा रह्यो । गत केही दिनयता बाँकेका विभिन्न भागमा ट्रकले गर्दा करिब ४ वटा गम्भीर खालका दुर्घटना भएका छन् ।

ती दुर्घटनामा ३ जनाको मृत्यु भैसकेको छ भने ४ जना गम्भीर घाइते भएका छन् । नेपालगन्ज–कोहलपुर सडकखण्डमा आवागमन गर्नेे ट्रकहरुको गति नियन्त्रण बारे प्रहरीले विशेष निगरानी राख्नु आवश्यक रहेको स्थानीयहरुको माग छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री