कोहलपुर तनावग्रस्त: सिडीओ र एसपी आन्दोलनकारीको घेरामा

-सिराज खान
नेपालगन्ज । आइतवार विहानैदेखि तनावग्रस्त बनेको कोहलपुरमा सोमवार पनि दिनभरी प्रर्दशनकारीहरुले यातायात र बजार बन्द गराएर आन्दोलनलाई जारी राखेका छन् । सोमवार दिनभरीजसो चोक चोकमा विद्यार्थीहरुले प्रहरी दमन विरुद्ध नारा लगाउँदै टायर बालेर सडक अवरुद्ध बनाएर प्रदर्शन गरेका छन् ।

कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीलाई प्रहरीले आइतवार प्रदर्शनकै क्रममा कुटपिट गरेर घाइते बनाएको विरोधमा सोमवार कोहलपुर बजार पूर्ण रुपमा बन्द गरिएको छ । आन्दोलनको बेला सम्झाई बुझाई गरिरहेका अध्यक्ष अधिकारीलाई विना कारण प्रहरीले कुटपिट गरेकोले दोषीमाथि कारवाहीको माग गर्दै बजार बन्द गरिएको संघले जनाएको छ ।

सोमवार विहान कोहलपुरको अवस्था सामान्य बन्दै गएपनि ११ बजे नेपाल विद्यार्थी संघले विरोध जुलुस निकालेपछि सडक आन्दोलनमय बनेको थियो । सोमवार स्थानीय प्रशासनले कोहलपुरका सबै विद्यालयहरु बन्द गराएको छ । आन्दोलनकारीले मानवअधिकारकर्मीको गाडीलाई समेत कोहलपुरमा छिर्न दिएनन् । आन्दोलनकारीले कोहलपुरका डीएसपी हेम बहादुर शाहीको निलम्बनको माग गरिरहेका छन् ।

यसैविच कोहलपुर नगरपालिकाले घाइतेहरुको उपचारका लागि दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ । सोमवार बसेको बैठकले सो निर्णय गरेको कोहलपुर नगरपालिकाका कार्यवाहक मेयर सञ्जु चौधरीले बताइन् । उनले सबै नगरवासीलाई संयम अपनाउन समेत आग्रह गरिन ।

उक्त बैठकले कोहलपुर घटनाप्रति खेद ब्यक्त गर्दै सम्पूर्ण राजनितिक दल, नागरिक समाज, शिक्षक, विद्यार्थी, अभिभावक, उद्योग ब्यवसायी लगायत सबैलाई संयम रहन आग्रह गर्नुका साथै शान्ती सुब्यवस्थाका लागी सहयोग गर्न समेत आग्रह गरेको चौधरीको भनाई छ ।

घटनापछि उत्पन्न विशेष परिस्थितीको सहजीकरणकालागी कार्यवाहक नगर प्रमुख चौधरीको संयोजकत्वमा कार्यपालीका सदस्यद्धय डिल बहादुर परियार, नारायणी वली र कोहलपुर वडा नं. ११ का वडाध्यक्ष कर्णबहादुर थापा र १० नं. वडाध्यक्ष निरज चलाउने सदस्य रहने गरी सहजिकरण समिति समेत गठन गरीएको छ । आइतबार दिनको ३ बजेदेखी कफ्र्यु जारी गरीएको माइकिंग गरिएपनि पछि सो कफ्र्युलाई निशेधाज्ञामा परिणत गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायका अनुसार दुर्घटना क्षेत्र वरपर दक्षिणमा पिपरी, उत्तरमा नौवस्ता जाने बाटो चौराहदेखि पाँचसय मिटर उत्तरसम्म, पूर्वमा चप्परगौडी र पश्चिममा किरण नालासम्मको क्षेत्रलाई चारकिल्ला तोकेर निषेधित क्षेत्र घोषणा गरिएको छ । यसैबिच बाँकेका समपूर्ण राजनितिक दलहरुले आफ्ना कार्यकर्तालाई संयमित रहन अपिल गरेका छन ।

आइतबार विहान कोहलपुर वडा नं. १० मा रहेको त्रिभुवन माविमा अध्ययनरत छात्रा प्रकृती चन्दलाई कोहलपुरबाट नेपालगञ्ज जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले किचेको थियो । घटनामा चन्द गम्भीर घाइते भएकोले थप उपचारका लागि राजधानी लगिएको थियो ।

सिडीओ र एसपी थुनिए

बाँकेका प्रमुख जिल्ला अधिकारी(सिडीओ) र प्रहरी उपरीक्षक (एसपी) आन्दोलनकारीको घेराबन्दीमा परेका छन । कोहलपुर घटनाको विषयमा सर्वपक्षीय र सर्वदलीय छलफलमा सहभागी हुन कोहलपुर आएका उनीहरुलाई आन्दोलनकारीले पिपिरीस्थित कृषि विकास बैंकको परिसरभित्र थुनेका हुन ।

कोहलपुर प्रहरी प्रमुख हेम बहादुर शाहीलाई कारवाहीको माग गर्दै उत्रिएका आन्दोलनकारीले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का र बाँके प्रहरी प्रमुख बिरबहादुर वली लगायतलाई बैंक परिसरमै थुनेपछि ४ बजेदेखी गर्ने भनिएको सद्भाव र्‍याली बिथोलिएको छ । आइतबार घटनापछि आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि दमन गरेको भन्दै आन्दोलनकारीले कोहलपुर प्रहरी प्रमुखलाई कारवाहीको माग गर्दै आएका छन ।

टिप्पणी थप्नुहोस्