लुम्बिनी पर्यटन महोत्सव अपेक्षा गरेभन्दा बढी सफल

-राधेश्याम विश्वकर्मा

भैरहवा । भैरहवामा मंसिर ३ देखि सुरु भएर १६ गते सम्पन्न भएको पाँचौ लुम्बिनी पर्यटन, प्रवद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ सफलताको मापदण्डमा रेकर्ड तोडेको आयोजकले दावी गरेका छन् । भैरहवामा चलेको महोत्सवहरुमा पाँचौं महोत्सव अपेक्षा गरेभन्दा बढी सफल भएकोमा आयोजक उद्योग व्यापार संगठन हौसिएको छ ।

उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्स काठमाडौंको आयोजनामा “राष्ट्रिय उत्पादनको वृद्धि गरी पर्यटन प्रवद्र्धन गरौं, राष्ट्रिय उत्पादनको प्रयोग गरी राष्ट्रिय अर्थतन्त्रमा आत्मनिर्भर बनौं” भन्ने नाराका साथ मेला सम्पन्न भएको थियो । मेलालाई सफल पार्न सबै पक्षले महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकले धन्यवाद ज्ञापन गरेको छ ।

संगठनले सोमबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवमा १० करोड बराबरको कारोबार तथा डेढ लाख दर्शकले महोत्सवको अवलोकन गरेको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संगठनका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक नारायण प्रसाद भण्डारीले संगठनले देवदह, तिलोत्तमा तथा भैरहवा गरी आठवटा महोत्सव सम्पन्न गरेको र यस वर्षको महोत्सव हालसम्मकै उत्कृष्ट भएको संस्थाले विश्वास लिएको बताए । उनले महोत्सवबाट ३ हजार ५ सय जना बढीले अस्थायी रुपमा रोजगारी पाउँदा थोरैमात्रामा आर्थिक क्षेत्रमा योगदान भएको बताए ।

सेल्फी जोन, विभिन्न धार्मिक तथा पर्यटकीयस्थल आकृतिको प्रवेशद्धार, सचिवालय लगायतले नेपाल भ्रमण वर्ष तथा लुम्बिनी भ्रमण वर्षको व्यापक रुपमा प्रचारप्रसार भइ पर्यटन प्रबद्र्धन भएको भण्डारीले बताए । “घुँइचो हुने दिनमा कृषि सम्बन्धी स्टलबाट दैनिक ७५ हजारसम्म कारोबार हुँदा कृषिको प्रबद्र्धन भएको छ, महिला हस्तकला सम्बन्धि स्टल पनि न्यूनतम शुल्कमा राख्न दिएका थियौं,’ उनले भने ।

स्टलधनीको सन्तुष्टीलाई देखेर मेलालाई प्रदर्शनीस्थलको रुपमा परिमार्जित गरेर अगाडी बढ्ने सोचे संगठनले बनाएको उनले बताए । महोत्सवमा चारसय वटा स्टल राखेर अर्को रेकर्ड कायम गरिएको उनले बताए । महोत्सव सफल पार्न सबैको सहयोग रहेको उनले बताए । भण्डारीले आगामी बर्ष लाग्ने भैरहवा मेलामा शुक्रबार र शनिबार बाहेक अन्य दिन निशुल्क प्रवेश दिने योजना बनाएर अगाडी बढ्ने बताए ।

त्यस्तै संगठनका निवर्तमान अध्यक्ष खिम बहादुर खत्रीले मेलाको सफलतालाई आर्थिक पाटोसंग मात्र तुलना गर्न नमिल्ने बताए । उनले अघिल्लो महोत्सवहरु भन्दा यस वर्षमा सुरक्षा तथा सरकारी निकायबाट बढी सहयोग पाइएको बताए । महोत्सव सबैको हो भन्ने अपनत्व लिएर सहयोग गर्ने सबै क्षेत्रलाई उनले धन्यवाद दिए ।

टिप्पणी थप्नुहोस्