नेवि संघ नेतृत्व ‘उपविजेता’ समूहलाई देउ

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ नेतृत्वविहीन भएको भन्दै तत्काल नयाँ नेतृत्व ल्याउन विद्यार्थी नेताहरुले माग गरेका छन् ।

पार्टी कार्यालयमा कांग्रेस पदाधिकारी बैठक चलिरहँदा कमलादीस्थित प्रज्ञा भवनमा भेला भएका नेवि संघ नेताहरुले पार्टी नेतृत्वका कारण संगठनलाई कमजोर बनाएको आरोप लगाए ।

तत्कालीन अध्यक्ष नैनसिंह महरले राजीनामा दिएको आठ महिनासम्म पनि नयाँ नेतृत्व आउन नसक्नु दुर्भाग्य भएको भन्दै महरका तत्कालीन प्रतिस्पर्धी मनोजमणी आचार्य समूहले तत्काल नेतृत्वको माग गरेको हो ।

आचार्यले सबै विद्यार्थीको भावनाका आधारमा नयाँ नेतृत्व आउनुपर्ने माग राखे । नेविसंघलाई नेतृत्ववीहिन र क्षमताहिन ब्यक्तिहरुलाई नेतृत्व राख्ने परिपाटीले संगठन कमजोर बनेको बताए ।

नेता दिपक भट्टराईले नेविसंघ नेतृत्वविहीन हुँदा मुलुकभरि संगठन निष्क्रिय बनेको भन्दै तत्काल नयाँ नेतृत्वको माग गरे । उनले भने, ‘कसैले नेतृत्व जिम्मा लिन हिम्मत राख्दैन भने ११ औं महाधिवेशनको ‘उपविजेता’ प्यानललाई जिम्मेवारी दिए १२ औं महाधिवेशन गराएरै देखाउँछ ।’

नेवि संघका पूर्व केन्द्रिय सदस्य लाओस राईले नेवि संघ कमजोर हुनुमा पार्टी नेतृत्व मात्र नभइ तत्कालीन नेतृत्वको पनि ठूलो कमजोरी रहेकाले अब गम्भीर भएर अघि बढ्नुपर्ने बताए । उनले अब नेवि संघ प्राकृतिक नियमको सिद्धान्तको आधारमा होइन कि आवश्यक्ता अनुसार अघि बढ्नुपर्ने औंल्याए ।

प्रतिपक्षी दलको भूमिका प्रभावकारी नभएको भन्दै आलोचना भइरहेका बेला कांग्रेसको नर्सरी मानिने नेविसंघ नै लामो समयदेखि विघटित अवस्थामा रहनु दुर्भाग्य भएको नेताहरुले बताए ।

भेलामा नेताहरु हिमालदत्त श्रेष्ठ, प्रतिमा गौतम, गजेन्द्र कार्की, प्रमोदहरी गुरागाइँ, शिव रिमाललगायतले तत्काल नयाँ नेतृत्व ल्याइ संगठनलाई चलायमान बनाउनुपर्ने माग राखे ।

नेविसंघको विधानमा ३२ वर्षको उमेरहद व्यवस्था गरिए पनि नयाँ गठन हुने नेविसंघमा उमेरहदका विषयमा कांग्रेसभित्र नै ठूलो मतान्तर देखिन्छ ।

२०७३ साउनमा भएको ११ औं महाधिवेशनबाट अध्यक्ष विजयी भएका नैनसिंह महरले १२ औं महाधिवेशन गर्न नसकेको भन्दै पार्टी नेतृत्वले राजीनामा माग गरेको थियो । उनले राजीनामा बुझाएको आठ महिना वितिसक्दा पनि नयाँ नेतृत्व आउन नसकेको हो ।

नयाँ नेतृत्वका लागि पार्टीका विभिन्न गुटहरुले आ-आफ्ना नेतालाई नेतृत्वमा ल्याउनुपर्ने माग राख्दै आएका छन् । पार्टी सभापति शेर बहादुर देउवा आफू निकटलाई नेतृत्वमा ल्याउने कसरतमा छन् ।

बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायतले पनि आफ्नो नेतालाई नेतृत्वमा स्थापित गर्ने प्रयासमा छन् । उता महामन्त्री डा शंशाक कोइराला समूहबाट पनि संगठनको नेतृत्वका लागि नेताहरु तयार रहेको बुझिएको छ । यद्यपी, पार्टीपंक्तीमै भागबन्डा र विधानका विषयमा कुरा नमिल्दा नेवि संघ नेतृत्वविहीन अवस्थामा रहेको बताइन्छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री