१५ बर्षको वस्तुनिष्ट समिक्षा गर्नुपर्छ

भैरहवा । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बितेको १५ बर्षको समिक्षा गर्नुपर्ने बताएका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय कार्यालयमा निर्मित प्रज्ञास्तुपको समुद्घाटन एवं बुद्ध अस्थिधातु प्रतिस्थापन समारोहलाई बिहीबार लुम्बिनीमा सम्बोधन गर्दै मन्त्री पोखरेलले बितेको १५ बर्षको वस्तुनिष्ट समिक्षा आवश्यक रहेकोमा जोड दिए । “भावनामा बगरे हैन, कुनै एउटा मनोगत ढंगले मात्र हैन, यो १५ बर्षको यात्रा कसरी गुज्रियो यसको वस्तुनिष्ट समिक्षा हुन पर्दछ,” पोखरेलले भने ।

कार्यक्रममा बोल्दै उनले सिंगो लुम्बिनी क्षेत्रको विकासको लागि संघीय सरकारले जिम्मा लिने समेत बताए । संविधानमा किटान गरिएका कामहरुमा आधारित भएर प्रदेश सरकार र स्थानीय सरकारले काम गर्नुपर्ने बताए । उनले कुनै चुनौतीपूर्ण काम भए वा काम गर्दा बाधा आए त्यसमा संघीय सरकार सहयोग गर्न तयार रहेको बताए ।

१५ वर्षसम्म लुम्बिनी बौद्ध विश्वविद्यालयको यात्रा कसरी गुज्रियो भन्नेबारे वस्तुनिष्ठ समिक्षा हुनुपर्ने उनको भनाइ थियो । समिक्षा गर्दा वितेका दिनको कमीकमजोरीलाई मात्र नहेरी भविष्यमा गर्नुपर्ने कामको बारेमा मार्गचित्र बनाएर अगाडी बनाएर अगाडी बढ्नुपर्ने बताए । विकासलाई जनताको स्थितिसंग गास्नुपर्ने उनले बताए । मन्त्री पोखरेलले अब अलमलको अवस्था रहन नहुने बताए ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं लुम्बिनी बौद्ध विश्ववद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले विश्वविद्यालयको भीडमा लुम्बिनी बौद्ध विश्वविद्यालयले छुट्टै पहिचान बनाउन कसरी सक्छ भन्नेबारे सोच्न आवश्यक रहेको बताए । उनले झैझगडालाई वैज्ञानिक रुपमा समाधान गर्नुपर्ने बताए ।

प्रदेश ५ सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले लुम्बिनी बौद्ध विश्वविद्यालयले छोटो समयमा प्रगति गरेको बताए । उनले संघीयताको मर्म अनुसार लुम्बिनी विकास कोषलाई प्रदेश र स्थानीय सरकारसंग जोड्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रदेश ५ राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराई, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी, प्रदेशसभा सदस्य फकरुद्धिन खाँ लगायतले संघीयताको मर्म अनुसार लुम्बिनी विकास कोषलाई प्रदेश र स्थानीय सरकारसंग जोड्नुपर्ने बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार तिलकराम आचार्यले म्यानमारबाट ल्याइएको अस्थिधातु प्रतिस्थापन गरिएको बताए । आचार्यले बौद्ध विश्वविद्यालय गठन भएको १५ वर्ष भए पनि ५ वर्षदेखि शैक्षिक कार्यक्रमहरु सञ्चालन भइरहेको जानकारी दिए । विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यको अध्यक्षता तथा पूर्व क्याम्पस प्रमुख इन्द्र काफ्लेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

टिप्पणी थप्नुहोस्