हिमपात र बर्षासँगै चिसो बढ्यो: आगो ताप्दै परीक्षा लेख्दैछन् विद्यार्थी

काठमाडौं । पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै काठमाडौं लगायत देशैभरको जनजीवन प्रभावित भएको छ ।

हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ भने पश्चिम पहाडी र तराई क्षेत्रमा पानी परेको छ । शुक्रबार बिहानैदेखि दिनभरजसो काठमाडौं उपत्यकामा पानी पर्यो ।

मौसम पूर्वानुमान महाशाखाले बिहानैबाट हल्का पानी परेतापनि साँझ काठमाडौं उपत्यकामा मेघ गर्जनसहित पानी पर्ने जानकारी दिएको छ ।

शनिबारदेखि भने मौसममा सुधार हुँदै जानेछ । यसपालिको पश्चिमी वायुको प्रणाली बलियो भएकाले अत्यधिक चिसो हुने छ । शनिबार साँझदेखि भने यसको प्रभाव घट्दै जानेछ ।

यसैबीच हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । डोल्पाका उपल्लो र मध्य भागमा बिहीबारदेखि भएको हिमपातले वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थी समस्यामा परेका छन् ।

हिमाली जिल्ला ताप्लेजुङमा पनि हिमपात भएको छ । दिउँसो सामान्य वर्षासँगै हिमपात शुरु भएको हो । उच्च क्षेत्रमा रहेका ओलाङचुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, फलेलगायतका बस्तीमा बाक्लो हिमपात भएको छ भने प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत हिमपात भएको स्थानीयवासीले बताएका छन् ।

यता, दोलखाको धार्मिक तथा पर्याटकीय क्षेत्र कालिञ्चोक क्षेत्रमा पनि हिमपात भएको छ । शुक्रबार बिहानदेखि कालिञ्चोक, कुरी बजार, खरिढुङ्गा, शैलुङडाँडा लगायत उच्च भू–भागमा हिमपात हुँदा जनजीवनसमेत प्रभावित बनेको छ ।

जुम्लामा बिहानैदेखि भारी हिमपात भएपछि लामा तथा छोटो दूरीका यातायात साधन र हवाई मार्ग ठप्प हुँदा तराई जाने यात्रुलाई सास्ती भएको कर्णाली यातायात समितिका अध्यक्ष मीनबहादुर थापाले जनाकारी दिए । चिसोले सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा वर्षाले जनजीवन प्रभावित बनेको छ भने पहाडी जिल्लामा हिमपात भएको छ ।

त्यस्तै हिमपातका कारण ती क्षेत्रको जनजीवन प्रभावित भएको छ । बिहीबार रातिदेखि भएको हिमपातले डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरा लगायतका पहाडमा हिमपातका कारण जनजीवन प्रभावित बनेको हो ।

हुम्लामा दोस्रोपटक बिहीबारदेखि हिमपात हुँदा सरदमुकाम सिमकोटका विद्यार्थीले आगोको सहायतामा परीक्षा दिन बाध्य भएका छन् । सदरमुकाम सिमकोटमा रहेको बालमन्दिर माध्यामिक विद्यालयमा शुक्रबार (आज) देखि एकसाथ सञ्चालन भएको वार्षिक परिक्षामा परिक्षार्थीले बाहिर हिमपात हुँदा कक्षाकोठाभित्र चिसोले थरथर काम्दै परीक्षा दिनुपर्ने बाध्यता रह्यो ।

शुक्रबार पहिलो दिन सञ्चालन भएको वार्षिक परीक्षामा कक्षा १ र २ मा अध्ययन गर्ने विद्यार्थीले वार्षिक परीक्षा आगोको सहायताले परीक्षा दिएका छन् ।

कक्षा १ मा २५ विद्यार्थी रहेका छन् भने कक्षा २ मा १२ विद्यार्थीले आगोको नजिक बसेर परीक्षा दिएका छन् । बालमन्दिर माविका शिक्षिका पार्वती रावतका अनुसार हिमपातमा सहभागी विद्यार्थीका लागि अन्य वैकल्पिक उपाय नहुँदा आगो बालेर पालैपालो विद्यार्थीलाई आगो तपाउँदै लेख्न लगाउने गरेको बताए

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री