निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नरोक

काठमाडौं । निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुनु भनेको मुलुक आर्थिक समृद्धिमा पछि पर्नसक्ने निष्कर्ष छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा बारा जिल्लाको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको सम्बन्धमा फाष्टट्रयाक एअरपोर्ट निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिले आफ्नो धारणा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो निश्कर्ष निकालिएको हो ।

नागरिक उड्ययन तथा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले २५ वर्ष पहिल्यै नै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्छ भनेर आवश्यकत्ता औंल्याए । उनले उक्त विमानस्थलको निर्माण (पीपीपी) पब्लिक प्राईभेट पार्टनरसिप मोडलमा बनाइने जनाए । विमानस्थलको निर्माणका लागि ७/८ वटा कम्पनीले आवदेन दिएपनि तीमध्येबाट स्वीसको जुरिच एयरपोर्ट ईन्टरनेशनल छनोटमा परेको पोखरेलले जानकारी दिए ।

निजगढ विमानस्थलमा धावनमार्ग, कार्गोको ठूलो व्यवस्था, क्याटरिङको सुविधा, विमानस्थलको आसपासमा सुविधासम्पन्न होटल, हरियाली पार्क निर्माण गरिने छ । उनले भने,‘विकासको लागि अब कसैको पखि मुख ताक्ने काम गर्नुहुँदैन् । हामी आफ्नो विकास आफैं गर्नसक्छौं ।’

विमानस्थल निर्माणको लागि जम्मा २ हजार हेक्टर जमिन आवश्यक रहेको बताउँदै पोखरेलले यो जमिन कुल जंगलको ०.००३ प्रतिशतमात्रै रहेको आंकडा पेश गरे । वातावरण संरक्षणको नाममा विकासका गतिविधिलाई रोक्न नहुने उनको धारणा छ । उनले भने,‘वातावरण विभागका अनुसार निजगढको दक्षिणपट्टिको २ हजार हेक्टरको जमिनलाई मात्रै हामी निर्माणस्थल बनाउँछौं ।’

पोखरेलले विमानस्थल निर्माण लागि साईट क्लियरेन्सको काम पनि द्रुत गतिमा अघि बढाईएको सुनाए । उनले भने,‘पर्सा खोलाको नदि नियन्त्रणको लागि २२ सय मिटर ड्याम बाँधिसकिएको छ । बकैया खोलामा यसै वर्षबाट काम सुरु गर्छौं । र, ५५ किलोमिटर तारवार गरिसक्यौं ।’ उनले मुआब्जाको हकमा काँटगाउँको एक सय १० विघामध्ये ८० विघा जति मुआब्जा दिईसकिएको पनि जानकारी गराए ।

त्यसैगरी मुख्य धावनमार्गमा रहेको टाँगिया बस्तीका १४ सय ७६ घरधुरी स्थानन्तरणको लागि जितपुर सिमरा र कोल्बी क्षेत्रका विभिन्न चार ठाउँको निधो गरिसकिएको पनि उनले स्पष्ट पारे ।

कार्यक्रममा पूर्वाधार विज्ञ तथा नागरिक उड्ययन प्राधिकरणका पूर्व महानिर्देशक वीरेन्द्र बहादुर देउजाले नेपालको आर्थिक समृद्धिको लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल मेरुदण्ड साबित हुने बताउँदै यसको निर्माण प्रक्रियालाई अविलम्ब सुरु गर्नुपर्ने माग गरे ।

कार्यक्रममा हवाई सुरक्षा निर्देशक विक्रमराज गौतमले पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कोही कतैबाट पनि अवरोध हुन नहुने धारणा राख्दै यसको प्राविधिक पक्षमा छलफल गर्न सकिने बताए ।

कार्यक्रममा समितिका संयोजक रविराज दंगालले समितिको तर्फबाट बारा जिल्लाको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको सम्बन्धमा धारणा राखेका थिए । निजगढमा पानी जम्ने समस्या नभएकोले यो विमानस्थल बनाउनको लागि उक्त ठाउँ उपयुक्त भएको पनि दंगालले स्पष्ट पारे ।

अरुण तेस्रोजस्तो आयोजना विथोली दशकौंसम्म जलस्रोतको धनी देशका नेपाली जनतालाई अन्धकारमा राख्ने तत्वले नै निजगढ विमानस्थल निर्माण हुन नदिन खोजेको पनि समितिको आरोप छ । समितिले विमानस्थल निर्माणलगायत कुनैपनि आयोजनामा हुनसक्ने वातावरणीय क्षति र त्यसको परिपूर्ति गर्ने विषयमा खुल्ला बहस गर्नसमेत आफूहरु तयार रहेको स्पष्ट पारेको छ ।

टिप्पणी थप्नुहोस्