बर्षेनी तनावमा इँट्टा ब्यवसायी, यसबर्ष ८६ करोड बढी घाटा

-राधेश्याम विश्वकर्मा

भैरहवा । काँचो ईट्टाको बिमा नहुँदा जिल्लाका ५१ बढी ईट्टा ब्यवसायी मर्कामा परेका छन् । बिमाकै कारण ब्यवसायीहरु बर्षेनी करोडौको नोक्सान ब्यहोरी रहेका छन भने उपभोक्ता समेत चर्को मूल्य वृद्धिमा परिरहेका छन ।

शुक्रबार भएको वर्षाका कारण यस बर्ष पनि रुपन्देही जिल्लामा मात्रै करिब ९० प्रतिशत काँचो इँट्टा गलेर नष्ट भएको छ । रुपन्देही जिल्लामा चिसो मौषममा उत्पादन हुने करिब चार करोड ईट्टा बनाएर तयार भएकोमा पोल्न नपाउदै करिब ३ करोड ५० लाख बढी काँचो इँट्टा गलेर नष्ट भएको लुम्बिनी इँट्टा उद्योग व्यवसायी संघ रुपन्देहीको भनाइ छ ।

संघका महासचिव अजय कुमार गुप्ताले जिल्ला भरिमा प्राप्त तथ्यांक अनुसार करिब ९० प्रतिशत काँचो ईट्टा नष्ट भएको बताए । उनले ५१ वटा उद्योगको कुल ३ करोड ५० लाख गोटा काँचो इँट्टा गलेर नष्ट हुदाँ व्यवसायीले १६ करोड ५० लाख बढी रुपैंयाँको नोक्सानी भएको दावी गरेका छन् ।

रुपन्देही जस्तै प्रदेश ५ का अन्य तराई जिल्लाहरुमा संचालनमा रहेका २ सय ७ वटा इँट्टा उद्योगहरुमा ८६ करोड बढी मुल्यको १८ करोड २५ लाख गोटा काँचो इँट्टा गलेर नष्ट भएको लुम्बिनी इँट्टा उद्योग व्यवसायी संघ प्रदेश नम्बर ५ का थानेश्वर घिमिरेको भनाई छ ।

घिमिरेका अनुसार नवलपरासी (दाउन्ने पश्चिम) मा २ करोड, नवलपरासी (दाउन्ने पूर्व) मा २ करोड, रुपन्देहीमा ३ करोड ५० लाख, कपिलवस्तुमा ३ करोड, दाङ्गमा २ करोड २५ लाख, बाँकेमा ३ करोड र बर्दियामा २ करोड ५० लाख गोटा गरि जम्मा १८ करोड २५ लाख गोटा काँचो इँट्टा नष्ट भएको जानकारी दिए ।

रुपन्देहीमा उत्पादन हुने इँट्टा पाल्पा, गुल्मी, पोखरा, काठमाण्डौँ लगायत विभिन्न स्थानमा जाने गर्दछ । बेमौसमीका कारण काँचो इट्टा गलेर नष्ट हुँदा उत्पादनमा कमी आउने र बजारमा पनि इट्टाको अभाव हुने देखिएको छ ।

चिसो मौषमको लागी प्रत्येक वर्ष मंसिर देखि र माघदेखि जेठ महिनासम्म गर्मी यामको लागी उद्योग संचालन हुने गर्दछ भने बाँकी महिना वर्षाका कारण इँट्टा उद्योगहरु बन्द रहने गर्दछन् । यस वर्षको पहिलो लगानी मंसिरमा नै वर्षाले करोडौँ रुपैयाँ नोक्सानी हुदाँ व्यवसायीहरु मारमा परेका हुन ।

प्रत्येक वस्तुको विमा हुने गरेपनि सरकारको नीतिका कारण काँचो इँट्टाको विमा नहुने हुँदा वर्षेनी करोडौँ रुपैयाँको नोक्सानी बेहोरदै आएको लुम्बिनी इँट्टा उद्योग व्यवसायी संघ प्रदेश नम्बर ५ का अध्यक्ष थानेश्वर घिमिरेको भनाई छ ।

वर्षाका कारण करोडौँ इँट्टा नष्ट भएकोले नयाँ उत्पादनमा पनि करिब एक महिना थप समय लाग्ने ब्यवसायीको भनाई छ । ब्यवसायीहरुले आफ्नो तरिका अनुसार काँचो इँट्टा जोगाउन खोजे पनि त्यो लगानी जोगाउनको लागी प्रयाप्त हुन नसकेको उनीहरुको गुनासो रहेको छ । यसका साथै सरकारी नितिको पनि ईट्टा ब्यवसायी संघले बिरोध गरेका छन् ।

उनीहरुले सरकारले अत्यावश्यक कच्चा पदार्थको रुपमा रहेको माटो र भष्कट समेत ब्यवसायीले उच्च मूल्यमा ल्याउनु परेको र त्यसको बिल समेत नपाएको गुनासो गरे । “सरकारले भ्याट बिल उपलब्ध गराउन पहल गरि दिए कम्तिमा भ्याट रकम फिर्ता आउथ्यो ।” लुम्बिनी इँट्टा उद्योग व्यवसायी संघका लेखा समिति संयोजक अनिल कौशलले भने ।

लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघले एक प्रेस बिज्ञप्ती जारी गर्दै इँट्टा ब्यवसाय धराशायी हुनबाट जोगाउन यस आर्थिक बर्षमा माटो र भष्कटमा लाग्दै आएको रोयल्टीमा बिशेष छुट गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ ।

रुपन्देही जिल्लामा रहेको ५३ वटा ईट्टा उद्योग मध्ये अहिले ५१ वटा सञ्चालनमा रहेका छन् । जसमध्ये थप ११ वटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन भने, २० वटाले मध्यम उत्पादन गरि रहेका छन् । पूर्ण रुपमा जिल्लामा २० वटा उद्योग मात्र सञ्चालनमा रहेको लुम्बिनी इँट्टा उद्योग व्यवसायी संघको भनाई छ ।

टिप्पणी थप्नुहोस्