प्रमको मिर्गौला प्रत्यारोपण भारतमा ?

  • रुपान्तरण समाचार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको मिर्गौलाको कार्य क्षमता घट्दै गएको छ । उनको मिर्गौलाको डायलासिसको संख्या पनि बढिरहेको छ । मिर्गौला रोगीहरुको निम्ति नियमित डायलासिस दीर्घकालीन उपचार र स्थायी समाधान होइन । बिज्ञ चिकित्सकहरुका अनुसार, यसको एकमात्र बिकल्प मिर्गौला प्रत्यारोपण नै हो । तर, प्रत्यारोपणको प्रक्रिया अघि बढाउनेमा प्रधानमन्त्रीका चिकित्सक र सल्लाहकार नै अन्यौलमा देखिएकाछन ।

प्रम ओलीको शरीरको प्रतिरक्षा प्रणाली (इम्युनिटी सिष्टम) कमजोर छ । उनलाई डायलासिस गर्नुपर्ने अवस्थामा बाहेक अन्य समयमा प्रधानमन्त्री निवास बालुवाटारबाट ननिस्कन चिकित्सकले सुझाव दिएका छन । २९ मंसिरमा पार्टीको बैठक पनि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । प्रधानमन्त्री ओलीले बैठकका सहभागीलाई आफू एपेन्डिसाईटिसको शल्यक्रियापछि निवासमा स्वास्थ्य लाभ गरिरहेको बताएका थिए ।
प्रधानमन्त्री ओलीको डायलासिस अहिले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा हुने गरेको छ । हालसम्म कति पटक डायलासिस गरियो ? प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई मात्रै होइन उनका नीजि चिकित्सकलाई पनि थाहा छैन । स्वास्थ्य बिटमा कार्यरत पत्रकारले आफ्नो स्रोतको उपयोग गरि अहिलेसम्म दश पटक डायलासिस भइसकेको समाचारमा जनाएका छन । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापा मिर्गौलाको डायलासिस हुनुलाई भात खाए सरह भएको अथ्र्याउँछन । उनी भन्छन, ‘प्रम ओलीको मिर्गौलाको डायलासिस कति पटक गरियो भन्ने त समाचार नै होइन । यो त अब नियमित भइसक्यो ।’ गत कात्तिक १२ गतेदेखि प्रधानमन्त्रीको मिर्गौलाको डायलासिस गरिंदै आएको छ । चिकित्सकको परामर्शमा कहिले चौबिस घण्टामा दुई पटक गरिन्छ । कहिले आवश्यकता अनुरुप सातामा एक पटक ।

प्रत्यारोपणमा पन्छने होड

प्रधानमन्त्री ओली लगातार डायलासिस गरिरहनु भन्दा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने टुंगोमा पुगेका छन । तर, प्रत्यारोपणका लागि चाँजोपाँजो मिलाउनु पर्ने सल्लाहकार एवं नीजि चिकित्सकहरु एकले अर्कोलाई पन्छाउने होडमा देखिएका छन ।

प्रेस सल्लाहकार थापाका अनुसार, प्रमको मिर्गौला प्रत्यारोपण कुन देशको अस्पतालमा गर्ने भन्ने टुंगो अझैं लागेको छैन । प्रत्यारोपण कहाँ गर्ने भन्ने विषय परिवारजन र चिकित्सकहरुले आपसी सरसल्लाहबाट तयगर्ने उनको भनाई छ । तर, नीजि चिकित्सक डा. दिव्या सिंह शाह प्रत्यारोपण कहाँ गर्ने भन्ने निर्णय पार्टीका शीर्ष नेता र परिवारजनको आपसी सरसल्लाहमा हुनुपर्ने बताउँछिन । डा. शाहको भनाइ छ ‘चिकित्सकले कहिलेसम्म प्रत्यारोपणगर्ने भन्ने विषयमा सल्लाह दिने मात्र हो । कुन मुलुकमा प्रत्यारोपण गर्ने भन्ने निर्णय त परिवारका सदस्य र पार्टीका शीर्ष नेताले नै गर्ने हो ।’ नेकपा सचिवालय बैठकले यस अघि नै प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण चिकित्सकीय निर्णयमा भर पर्ने स्पष्ट गरिसकेको छ ।

यता, प्रधानमन्त्री ओली समेत आफनो स्वास्थ्यप्रति निष्फिक्रि रहन लागेको र आफनो स्वास्थ्य समस्यालाई नजरअन्दाज गरिरहेको चिकित्सकहरु बताउँछन । रोगले प्रधानमन्त्री हो कि सर्वसाधारण हो ? चिनेको हुँदैन । बिरामीले यसरी रोगसँग खेलवाड गर्नुले हानी हुने त निश्चित नै छ, नाम नलेख्ने शर्तमा एक चिकित्सकले बताए । गत मंसिर ८ गते एपेन्डिसाईटिसको शल्यक्रियामा केही समय ढिलाई भएको भए अनिष्ट हुनसक्ने स्थिति रहेको चिकित्सकहरु बताउँछन । प्रमलाई एपेन्डिसाईटिस सहित पेरिटोनाइटिस (पेटको संक्रमण ) भएको थियो ।

भारतमा प्रत्यारोपणको संभावना

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण १२ वर्ष अघि भारतको एपोलो अस्पतालमा गरिएको थियो । त्यसपछि बेला बेलामा बिरामी पर्दा समेत उनी भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै आएका थिए ।

गएको साउन र भदौमा उनले सिंगापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार गराएका थिए । त्यहाँ चिकित्सकहरुले प्लाज्मा फेरेसिस पद्धतिबाट प्रम ओलीको शरीरमा बढेको एन्टिबडी नष्ट गरेका थिए । गत महिना मिर्गौला विशेषज्ञहरुको एक कार्यक्रममा भाग लिन अमेरिका पुगेकी डा. शाहले प्रत्यारोपणको संभावनाबारे त्यहाँका विज्ञ चिकित्सकसँग परामर्श गरेकी थिइन । तर, अहिले उनी अमेरिका वा सिंगापुरमा प्रत्यारोपणका लागि भरसक नजाने निष्कर्षमा पुगेको स्रोतले बतायो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रम ओलीलाई पत्रलेख्दै मिर्गौला प्रत्यारोपणका लागि सक्दो सहयोग गर्ने सन्देश परराष्ट्र मन्त्रालय मार्फत सम्प्रेषण गरेकोले भारतमै प्रत्यारोपणको संभावना बढेको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री