गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बुद्ध पूर्णिमादेखि संचालनमा

-राधेश्याम विश्वकर्मा

भैरहवा । भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई २०७७ सालको बुद्ध पूर्णिमाबाट संचालनमा ल्याउने तयारीका साथ कामलाई अघि बढाइएको छ ।

बिमानस्थलको धावन मार्गमा मार्किङ्ग गर्ने र आवश्यक बिजुलीको लागी फाउण्डेशन बनाउने काम सकिएको छ भने प्रशासनिक भवनमा फिनिसिङ्गको काम धमाधम भई रहेको छ । भुईमा मार्वल्स बिछ्याउने तथा टाएल्स लगाउने काम भई रहेको छ । टर्मिनल भवनमा पनि मार्बल, टायल, सिसिटिभी, एक्स–रे मेसिन जडान लगायनको काम सुरु भएको छ । यस्तै अहिले बिमान पार्किङ्ग (एप्रोन) क्षेत्रमा पनि मार्किङ्गको कामले तिव्रता पाएको छ ।

यस्तै आगमन तथा प्रस्थान भवनतर्फ पनि छानो लगाउने काम अन्तिम चरणमा पुगेको आयोजनाले जानकारी दिएको छ । विमानस्थल सुदृढीकरण कार्य आयोजना इकाई रुपन्देहीका प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थल सञ्चालनका लागि आवश्यक संरचना निर्माण अन्तर्गतका भौतिक संरचना निर्माणको अन्तिम अन्तिम अवस्थामा रहेको छ ।

टर्मिनल भवनमा फिनिसिङ र उपकरण जडानको काम सुरु भएको उनको भनाइ छ । उनले अबको काम भनेको बिशेषगरी उपकरण जडानको काम मात्र भएको हुदा उपकरण आएर जडान भएपछि भौतिक प्रगति स्वतः बढ्ने बताए । धावनमार्गमा प्रयोग हुने बिभिन्न बत्ती तथा संचार सम्बन्धि उपकरणहरु पुष महिना भित्र आइपुग्ने र त्यसको एकदेखि डेढ महिनामा जडानको काम पनि सकिने आयोजनाको भनाइ छ ।

अहिले भौतिक पूर्वाधारतर्फ ८४ दशमलव ५ प्रतिशत काम सकिएको अधिकारीले जानकारी दिए । गौतम बुद्ध बिमानस्थलमा अहिले फिनिसिङ्ग, उपकरण जडान तथा कार पार्किङ्ग निर्माणको कामले तिव्रता लिएको छ । उसका साथै ओभरहेड ट्याङ्की निर्माण, टर्मिनल भवनमा छानो लगाउने कामहरु सामानान्तर रुपमा अगाडी बढाईएको छ ।

सबै काम सकाएर बुद्ध पूर्णिमासम्म बिमानस्थल संचालनमा ल्याउने गरी प्रयास भै रहेको उनले बताए । त्यसअघि बिमानस्थल संचालनको लागी आवश्यक पर्ने अध्यागमन, क्वारेन्टाईन, भन्सार, मौषम बिभाग, सुरक्षा निकाय लगायतका पदाधिकारीहरु संगको छलफल समेत भईसकेको छ ।

सरकारले २०१४ नोभेम्बरमा चिनियाँ ठेकेदार कम्पनी ‘नर्थ वेस्ट सिभिल एभिएसन’ सँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सम्झौता गरेको थियो । सम्झौता अनुसार सन २०१७ को डिसेम्बर ३१ सम्म विमानस्थलको ‘आइसिबी (एक’ अन्तर्गतका भौतिक पूर्वाधारको सबै काम सक्नुपर्ने थियो ।

तर, बिभिन्न कारणले निर्माण कम्पनीले समयमा काम नसकेपछि समय थप्दै सन् २०१९ को डिसेम्बरसम्ममा ठेकेदार कम्पनीले निर्माणको काम सक्नुपर्ने म्याद रहेको छ । सरकारले ६ अर्ब ८२ करोड रुपैयाँमा ‘आइसिबी–एक’ अन्तर्गत विमानस्थलको ३ हजार मिटरको रनवे, ट्याक्सी वे, एप्रोन, टर्मिनल भवन र टावर कन्ट्रोल भवन निर्माणका लागि सम्झौता गरेको थियो । यस्तै आईसिबी–२ अन्र्तगत बिमानस्थलमा जडान हुने उपकरणहरुका लागी ५० करोड बिनियोजन भएको छ ।

टिप्पणी थप्नुहोस्