सडक दुर्घटनामा भएका मानवीय क्षतिले ‘निद्रा लागेन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरुलाई बोलाई सडक दुर्घटना कम गर्न कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिएका छन् ।

पछिल्लो समय सडक दूर्घटनाका खबर आउन थालेपछि त्यसको न्यूनीकरणका उपाय खोज्न प्रधानमन्त्री ओलीले सडक पूर्वाधार तथा गृह मन्त्रालयका पदाधिकारीहरुलाई सोमबार बोलाएका हुन् ।

गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशक लगायतको समूहलाई प्रधानमन्त्रीले संयुक्त रुपमा निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले पछिल्लो पटक सडक दुर्घटनामा भएका मानवीय क्षतिले आफूलाई निद्रा नपरेको भन्दै यसलाई तत्काल घटाउनेगरी पूर्वाधार तथा सडक नियम पालना गराउन निर्देशन दिएका हुन् ।

‘सिन्धुपाल्चोकको सडक दुर्घटनामा आमाको निधन भएर दुधे बालक बेवारिस भएको खवर पढेँ, विरामी अवस्थामा रहेर हो कि, म निकै भावुक भएँ । हिजो खाना खान र सुत्न पनि सकिनँ’ ओलीले भने । ‘यस्ता दुर्घटनाले ठूलो संख्यामा सक्षम जनशक्तिको क्षति भएको छ । त्यसले कति बृद्धबृद्धा र बालबालिकालाई बेसहारा बनाएको छ ? यसलाई तत्काल रोक्ने कार्ययोजना बनाउनु पर्‍यो ।’

प्रधानमन्त्री ओलीले निजी सवारी साधनको तुलनामा सार्वजनिक यातायात दुर्घटना हुँदा ठुलो जनधनको क्षति हुने औंल्याउँदै सार्वजनिक यातायातका चालकहरुलाई तालिम, लाइसेन्सको पुनःपरीक्षण, सडक पूर्वाधार प्रयोगको अनूमतिमा गम्भीर परीक्षण गर्न निर्देशन दिए ।

‘सिट भन्दा बढी यात्रु राख्न नदिने, छतमा यात्रु राख्न नदिने, निर्माण पूरा नभएका वा यातायात संचालनका लागि योग्य नभएका सडकमा संचालन अनुमति नदिने, चालकको क्षमता परीक्षण गर्नेजस्ता काम तत्काल गरिहाल्नुस्’ प्रधानमन्त्रीले भने ।

छलफलमा गृहसचिव प्रेमकुमार राईले सडक दुर्घटनाको वर्तमान अवस्था, न्यूनिकरणका उपाय र रोकथामका लागि भएका प्रयासबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै भैतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्की र ट्राफिक प्रहरी प्रमुख भीम ढकालले पनि आ–आफ्नो विभागबाट भएका प्रयासबारे ब्रिफिङ गरे ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री