दुई कलाकारको निधनले नेपाली चलचित्र जगत शोकमा

काठमाडौं । यस हप्ता नेपाली चलचित्र क्षेत्रले निकै ठूलो चोट सहनु परेको छ । नेपाली चलचित्रका प्रतिभावान् कलाकारद्वय केशव भट्टराई र दीपक क्षेत्रीको निधनले चलचित्र नगरी स्तब्ध बन्न पुग्यो ।

चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका भट्टराई र लामो समयदेखि रोगसँग लड्दै आइरहेको क्षेत्रीको पार्थिव शरीरलाई सोमबार एकसाथ अन्त्येष्टि गरिंदा आर्यघाटमा सन्नाट छायो ।

उनीहरुलाई एकसाथ राष्ट्रिय सम्मानका साथ सोमबार अन्त्येष्टि गरिएको हो । नेपाल प्रहरीको एक टुकडीले दुबैलाई राष्ट्रिय सम्मान दिएको थियो ।

भट्टराईलाई उनका १५ वर्षीय छोराले दागबत्ती दिएका थिए । भने, कलाकार क्षेत्रीलाई पनि छोराले दागबत्ति दिएका थिए । कलाकारद्वय भट्टराई र क्षेत्रीलाई श्रद्धाञ्जली दिनका लागि दिउँसो चलचित्र विकास बोर्डको प्राङ्गणमा राखिएको थियो ।

उनीहरुलाई श्रद्धाञ्जली दिनका लागि उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलसँगै नेपाली फिल्मका कलाकार, निर्माता, निर्देशक, प्राविधिकहरु बोर्ड पुगेका थिए । त्यसपछि अन्तिम श्रद्धाञ्जलीका लागि दुबैको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा राखिएको थियो ।

दुई दिनको अन्तरमा निधन भएका कलाकारद्वयलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासँगै ख्यातीप्राप्त कलाकारहरु पशुपति आर्यघाट पुगेका थिए । आर्यघाटमा शुभचिन्तकहरुको ठूलो भीड लागेको थियो ।

दर्जनौं नेपाली चलचित्रमा खलनायक र चरित्र कलाकारका रुपमा अभिनय गरेका कलाकार दीपक क्षेत्री गएको शनिबार आफ्नै निवासमा मृत अवस्थामा भेटिएका थिए । श्रीमती मलेशियाबाट आइतबार दिउँसो मात्र नेपाल ओर्लिएका कारण उनको सोमबार पोष्टमार्टम गरेर अन्त्येष्टि गरिएको हो ।

त्यस्तै, निर्माता तथा कलाकार केशव भट्टराईको आइतबार साँझ १०ः३० बजे हृदयघातका कारण निधन भएको हो । उपचारका लागि काठमाडौंको चाबहिलस्थित ओम अस्पताल पुर्‍याउँदा उनको निधन भएको थियो । ५४ बर्षको उमेरमा निधन भएका उनले दर्जनौँ चलचित्रमा अभिनयसँगै ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’ लगायतका चलचित्र निर्माण पनि गरेका थिए ।

टिप्पणी थप्नुहोस्