सरकार चलाउने पार्टीमा ‘गुट झाँगियो अराजकता मौलायो !’

-आरती शर्मा
काठमाडौं । सत्तारुढ नेकपाभित्र पार्टी अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल (प्रचण्ड) र नेता माधवकुमार नेपालबीच द्वन्द्धात्मक सम्बन्ध विकसित भएको छ । यही सम्बन्धका कारण पार्टी संगठन गतिहीन अवस्थामा पुगेको आत्मसमीक्षा नेताहरुले गर्न थालेका छन ।

आइतबारदेखि शुरु भएको पार्टीको स्थायी समितिको बैठकमा अध्यक्षव्दय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा ११ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन । शीर्ष नेताहरुको छुट्टाछुट्टै गुटले पार्टी संगठन नै अन्यौलग्रस्त बन्न पुगेको नेताहरुको आत्मसमीक्षा छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकको दोश्रो दिनमा नेताहरुले नेतृत्वको आलोचना गरेका छन ।

बैठकमा अध्यक्ष केपी ओली अनुपस्थित रहेका छन । भर्खरै गम्भीर किसिमको एपेन्डिसाइटिसको शल्यक्रिया भएको र प्रम ओली स्वास्थ्य लाभगर्दै रहेकोले उपस्थित हुन नसकेको जानकारी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गराएका थिए । बैठकमा सहभागी एक सदस्यका अनुसार, ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बैठक अघि बढाइएको थियो ।

एक वर्षपछि बैठक
२९ मंसिर ०७५ मा पार्टीको स्थायी समितिको तेस्रो बैठक शुरु भएको थियो । त्यसको ठीक एक वर्षपछि २९ मंसिरकै दिन पारेर स्थायी समितिको चौथो बैठकमा नेता माधव नेपाल निकटका नेताहरु पार्टी र सरकारको आलोचनामा उत्रिएका छन । आइतबारबाट शुरु भएको स्थायी समितिको बैठकमा नेपाल निकट नेता भीम रावलले स्थायी समितिको बैठक एकवर्ष बीचको लामो अन्तरालमा बसेकोमा आलोचना गरेका थिए ।

प्रत्येक तीन महिनाभित्र बैठक बस्नै पर्ने आफ्नै निर्णय एवं स्थायी समिति सम्बन्धी अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको मान्यता र मर्म विपरित भएको नेताहरुले धारणा छ । बैठकमा अध्यक्षद्धय ओली र दाहालले पेश गरेको संयुक्त प्रतिवेदनमा समेत दुई बैठक बीचको लामो दूरीका कारण विचारको गति र सिर्जना एवं विधिको पालना र परिमार्जनका प्रश्नमा गम्भीर कमजोरी रहेको उल्लेख गरिएको छ । यसलाई विचलनको संकेतका रुपमा आत्मसात गरि भविष्यमा यस प्रकारका कमजोरी दोहोरिन नदिने प्रतिबद्धता अध्यक्ष प्रचण्डले व्यक्त गरेका थिए ।

प्रतिपक्षमा नेता नेपाल

एक वर्षपछि बसेको स्थायी कमिटिको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको गुट प्रतिपक्षीको रुपमा प्रस्तुत भएको छ । आइतबारको बैठकमा नेपाल निकट नेता भीम रावलले एक वर्षसम्म बैठक बसाल्न नसकेकोमा नेतृत्वको कडा आलोचना गरेका थिए । दिउसोको बैठकमा शीर्ष नेतृत्व विरुद्ध चर्को आलोचना गरेका नेता रावललाई साथमा लिएर साँझपख नेता नेपाल पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।

स्रोतका अनुसार, नेता नेपाल र रावल खुमलटार पुग्दा अध्यक्ष प्रचण्ड नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र उर्जामन्त्री वर्षमान पुनसँग छलफलमा व्यस्त थिए । नेता नेपाल सचिवालय र स्थायी कमिटिको बैठक अघि प्रचण्ड निवास खुमलटार पुगेका थिए । अध्यक्ष प्रचण्डको दैलोमा दिनैपिच्छे नेता नेपाल देखा पर्नुलाई नेकपाभित्र प्रधानमन्त्री ओली गुट कमजोर हुँदै गएको अथ्र्याउन थालिएको छ । नेता नेपालले यस अघि पार्टी सचिवालयमा ७ बूँदे असहमति राखेका थिए ।

तत्कालीन एमालेका उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालय सदस्य बनाउनु पर्ने प्रस्ताव नेता नेपालले पार्टी सचिवालयमा राखिसकेका छन । यस पटकको बैठकमा फरक एजेण्डाका रुपमा नेता नेपालले कुनै प्रस्ताव नराखेपनि लबिङ गरिरहेका छन ।

भारतले कालापानी लगायतका क्षेत्रमा अतिक्रमण गरेको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग वार्तागर्न विशेष दूतका रुपमा नेता नेपाललाई पठाउने तयारी विथोलिएको छ । भारतीय प्रधानमन्त्री मोदीका तर्फबाट कुनै ‘रेस्पोन्स’ नआएपछि नेता नेपाल विशेष दूतका रुपमा भारतजाने चर्चा सेलाएकोछ । प्रम ओलीले पनि नेता नेपाललाई दिल्ली पठाउने विषयमा कुनै ‘फलोअप’ नगरेको जानकारी सूत्रहरुले दिएका छन ।

नेता नेपालको नेतृत्वमा नेकपा सचिवालयबाट एकजना, प्रधानमन्त्री कार्यालयको सचिवालयबाट एकजना समेत तीन सदस्यीय मण्डल दिल्ली पठाउने अनौपचारिक सहमति भएको थियो । स्रोतका अनुसार नेता नेपालसँग नेकपाका प्रवक्ता एवं पूर्व परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्यका रुपमा रहने बताइएको थियो । यस विषयमा जिज्ञासा राख्दा नेकपाका प्रवक्ता श्रेष्ठ र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई पन्छिए ।

पार्टीभित्र अराजकता

एमाले र माओवादीबीचको एकता प्रक्रियाले पूर्णता नपाउँदै पार्टी संगठन अन्योलग्रस्त अवस्थामा पुगेको छ । पार्टीको आधिकारिक र व्यवस्थित प्रकाशन, प्रचार प्रशिक्षण र स्कुलिङको अभावका कारण पार्टी संगठन अन्योलग्रस्त अवस्थामा रहेको अध्यक्षद्धय ओली र प्रचण्डको संयुक्त प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘पार्टी संस्थागत हुन सकेको छैन । बरु विभिन्न प्रकारका गुटहरु झाँगिदै जान थालेका छन ।

पार्टीभित्र घात, अन्तर्घात र अराजकताका प्रवृत्ति बढिरहेका छन । पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा छ । पार्टी अनुशासनको स्थान गुटको अराजकताले लिने खतरा दिन प्रतिदिन बढ्दै गएको छ । आलोचना, आत्मालोचना र राम्रो काम गर्नेलाई प्रोत्साहन तथा गल्तीगर्ने लाई दुरुत्साहनगर्ने जस्ता सजीव र गतिशील कम्युनिष्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालना भइरहेको छैन ।’

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री