खेलाडीको पदक मन्त्रीको गलामा

पदक विजेतालाई नगद र सम्मान

सिराज खान

नेपालगन्ज । नेपालमा सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकुद(साग) मा भारोत्तोलन खेलमा स्वर्ण र कास्य पदक जितेर गृहनगर फर्किएका नेपालगन्जका दुई जना खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ ।

प्रतियोगितामा इतिहास रचेर फर्किएका नेपालगन्जका स्वर्ण पदक विजेता सञ्जु चौधरी र कास्य पदक विजेता प्रकाश केसी तथा उनीहरुका प्रशिक्षक शकिल अहमदलाई नेपाल सरकारका सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईले नगदसहित सम्मान गरे ।

पदक विजेता खेलाडीको सम्मानमा आफ्नै निवासमा सोमवार बेलुकी एक रात्री भोजको समेत आयोजना गरी मन्त्री राईले स्वर्ण पदक विजेता चौधरीलाई ६१ हजार, कास्य पदक विजेता केसीलाई ३१ हजार र भारोत्तोलनका प्रशिक्षक अहमदलाई ५० हजार रुपैंयाँ नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।

सो अवसरमा बोल्दै खेलको माध्यमबाट इतिहास रचेर नेपालगन्जलाई संसारभरी चिनाउने काम गरेकोमा दुवै खेलाडी र उत्कृष्ट प्रशिक्षण दिएकोमा प्रशिक्षकप्रति समेत आभार व्यक्त गर्दै उनले अरु नयाँ प्रतिभावान खेलाडीलाई पनि प्रेरणा मिलोस् भनेर सम्मान परम्पराको थालनी गरेको बताए ।

‘मैले त मन्त्री भएर देशभरी नेपालगन्जलाई चिनाए, तर तपाईहरुले स्वर्ण र कास्य पदक जितेर नेपालगन्जलाई संसारभरीनै चिनाउनु भयो । त्यसका लागि तपाईहरुप्रति आभारी छु, सलाम गर्छु’, मन्त्री राईले भने । नेपालले पहिलो पटक यो प्रतियोगितामा धेरै पदक जितेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै स्वर्ण विजेता खेलाडी चौधरी र कास्य विजेता केसीले यस पटक सरकारले पनि राम्रो सुविधा र प्रशिक्षणको व्यवस्था गरेको तथा आफूहरुले पनि धेरै मिहेनत गरेकाले पदक जित्न सफल भएको प्रतिक्रिया दिए । उनीहरुले यसका लागि सहयोग गर्ने सरकार, प्रशिक्षक र अभिभावकलाई समेत धन्यवाद दिए ।

कार्यक्रममा प्रदेशसभाका सभासद विजय बहादुर यादव, कोहलपुर नगरपालिकाका उपप्रमुख सन्जु कुमारी चौधरी र समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्दीन राई लगायतले पनि पदक विजेता खेलाडीहरुलाई माला लगाएर सम्मान गरेका थिए । कार्यक्रममा बाँकेका अधिकांश पत्रकार, केही खेलाडी र खेलप्रेमी तथा अफिसियल र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

जब मन्त्रीले पदक लगाए

सहरी विकास मन्त्री राईले पदक विजेता खेलाडी तथा प्रशिक्षकको हौसला बढाउन तथा उनीहरुको प्रोत्साहनका लागि आयोजना गरेको कार्यक्रममा पुरस्कार तथा सम्मान ग्रहण गर्न पुगेका पदक विजेता खेलाडीले मन्त्री राईलाई नै आफ्ना मेडल पहिराएर उनको सम्मान गरे ।

मन्त्री राईले नेपालगन्ज र बाँकेको विकासका लागि गरेको कार्य तथा खेलाडीलाई वर्तमान सरकारले दिएको सेवा सुविधाले गर्दा यो मेडल मन्त्री र सरकारको पनि भएको भनि भावुक हुँदै चौधरी र केसीले मन्त्रीलाई मेडल पहिराएका थिए ।

खेलाडीले मेडल लगाईदिएपछि मन्त्री राईले यसले सरकार र आफूलाई अझै खेल र खेलाडीको विकास लगायत अन्य निर्माण विकासका लागि अगाडी बढ्न हौसला प्रदान गरेको बताए । उनले भविष्यमा यहाँबाट अझै राम्रा राम्रा खेलाडी उत्पादन हुने आशा समेत व्यक्त गरे ।

नेपालगन्ज भारोत्तोलन खेलको लागि निकै उर्जावान क्षेत्र मानिंदै आएपनि बाँकेको इतिहासमा कुनै पनि खेलाडीले दक्षिण एशियाली खेलमा स्वर्ण पदक जित्न सकेका थिएनन् ।

यसअघि नेपालगन्जका चर्चित खेलाडीहरु सुरेन्द्र हमाल र शमसुद्दिन सिद्दिकीले भारोत्तोलनमा ओलम्पिकसम्म देशको प्रतिनिधत्व गरेका थिए । यस क्षेत्रका चर्चित खेल प्रेमी तथा उद्योगी व्यवसायी रतन कुमार टण्डनको विशेष लगानी र प्रयासले गर्दा भारोत्तोलन खेल यहाँ फस्टाउँदै गएको हो ।

 

टिप्पणी थप्नुहोस्