पदक विजेता इलामेली खेलाडीलाई काठमाडौंमा सम्मान

काठमाडौं । पूर्व सभामुख तथा नेकपाका नेता सुभाषचन्द्र नेम्बाङ र समाजसेवी तथा कांग्रेस नेता डम्बर खड्काले १३ औं सागमा पदक विजेता खेलाडीलाई सम्मान तथा नगद प्रदान गरेका छन् ।

इलाम विकास समाजले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा १३ औं दक्षिण एसियाली खेलकुद(साग)मा विभिन्न खेलमा स्वर्ण, रजत र कास्य पदक प्राप्त पाँच जना इलामेली खेलाडीलाई प्रोत्साहनस्वरुप सम्मान पत्र र नगद प्रदान गरेका हुन ।

फुटबलतर्फ स्वर्ण विजेता इलाम सन्दकपुर गाउँपालिका–५ का छिरिङ गुरुङ, उसुतर्फ स्वर्ण विजेता देउमाई नगरपालिका–३ कि जुनी राई, महिला फुटबलतर्फ रजत विजेता सूर्योदय नगरपालिका, तीनघरेकी अन्जली तुम्बाफो सुब्बा, महिला विच भलिबलतर्फ कास्य विजेता, इलाम माङसेबुङकी विनिता बुढाथोकी र बास्केटबलतर्फ कास्य विजेता, सन्दकपुर गाउँपालिका–३ का विजय बुर्जालाई सम्मान पत्र र नगद प्रदान गरिएको हो ।

उनीहरुलाई समाजसेवी तथा कांग्रेस नेता डम्बर खड्काले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद प्रदान गरेका हुन् । कार्यक्रममा पूर्व सभामुख नेम्बाङले राष्ट्रको शिर उच्चो पार्ने काम गरेकोमा खेलाडीहरुलाई बधाई दिंदै खेलाडीहरुका लागि सरकारले उचित सम्मान र व्यवस्थापन गर्ने बताए ।

समाजसेवी तथा नेता खड्काले यो सम्मान इलामलाई मात्र नभई राष्ट्रलाई नै सम्मान भएकाले खेलाडीको मनोबल उच्च राख्न आफू सँधैभर सक्रिय रहेको बताए । उनले खेलाडीहरुको प्रोत्साहन र खेल विकासका लागि आफू सधैं लागिपर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य, अगम वान्तवा, एन्फाका केन्द्रिय सदस्य निरोज खड्गीले इलामका खेलाडीले राष्ट्रको नाम राखेकोमा बधाई तथा शुभकामना व्यक्त गरे ।

टिप्पणी थप्नुहोस्