सहरी विकास मन्त्री राईद्वारा सडक र नाला निरिक्षण

नेपालगञ्ज । नेपाल सरकारका सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईले नेपालगन्जमा निर्माण भैरहेको सडक र नालाहरुको स्थलगत निरिक्षण अनुगमन गरेका छन् ।

गृहनगरको भ्रमणमा रहेका मन्त्री राईले सहरी विकास मन्त्रालयद्धारा नेपालगन्जमा निर्माण गरिएका र निर्माणाधिन अवस्थामा रहेका सडकहरुको मंगलवार स्थलगत निरिक्षण अनुगमन गरे ।

सडक र नालाको निरिक्षण गर्दै उनले विकास निर्माणका काममा कुनै पनि प्रकारको लापरवाही, बेवास्ता र ढिलासुस्तीलाई सरकारले सहन नसक्ने बताए । उनले वर्तमान सरकारले विकास निर्माणलाई पहिलो प्राथमिकता दिएको जनाउँदै गुणस्तरीय काम नगर्नेलाई कडा कारवाही गरिने समेत जनाए ।

उनले विकास निर्माणलाई गुणस्तरीय नबनाउँदा नै छिटै भत्किने र विग्रने गरेको र त्यसबाट जनतामा नकारात्मक सन्देश जाने भएकोले सरकारले त्यसमा कुनै पनि प्रकारको सम्झौता नगर्ने प्रष्ट पारे ।  निरिक्षणको क्रममा केही ठाउँमा सडकमा मापदण्ड भन्दा ठुला ढुंगा भेटिएको र केही ठाउमा नालाहरु भासिएकोले तत्काल ती सबैको मर्मत सम्भार गरेर मापदण्ड अनुसार गर्न निर्देशन पनि मन्त्री राईले दिए ।

उनले विकासका कामहरु समयमा गुणस्तर तथा मापदण्ड पुरा गरेर सम्पन्न गर्नुपर्नेमा पनि विशेष जोड दिएका थिए । विकास निर्माणका कामहरुमा ढिलाई र गुणस्तरमा गडबडीलाई अब कुनै पनि हालतमा स्वीकार्य नगरिने उनले सो अवसरमा प्रष्ट पारे ।

मन्त्री राईले नेपालगन्ज उपमहानगरपालिकाको कारकाँदो, फुटाहा, लगदहवा, पुरैना र नहरपुरवामा निर्माण गरिएको र निर्माण भैरहेको सडकको गुणस्तर बारे स्थलगत निरिक्षण अनुगमन गरेका थिए ।  यसैगरी उनले मंगलवार नै विर्ताको सडक र पिप्रहवा तथा बालेगाउँको नालाको पनि स्थलगत निरिक्षण गरेर सो को गुणस्तर निरिक्षण पनि गरेका थिए ।

सो अवसरमा संघयी आयोजना कार्यान्वयन ईकाई कार्यालय बाँकेका प्रमुख गणेश कर्माचार्यले नेपालगन्जमा निर्माण भैरहेका सडकहरुको बारेमा मन्त्री राईलाई विस्तृत रुपमा जानकारी गराएका थिए ।

सहरी विकास मन्त्रालयबाट संघिय आयोजना कार्यान्वयन ईकाई कार्यालय मार्फत नेपालगञ्जमा ३० किलोमिटर सडक र नाला निर्माण भैरहेको संघिय आयोजना कार्यान्वयन ईकाई कार्यालय बाँकेका प्रमुख कर्माचार्यले बताएका छन् ।

टिप्पणी थप्नुहोस्