यसरी पो मनाउनुपर्छ जन्मदिन

-राधेश्याम विश्वकर्मा

भैरहवा । प्रायः मानिसहरु जन्मदिनमा, केक काटछन्, उपहार प्राप्त गर्छन । घरमै मनाइने जन्मदिनमा शुभचिन्तक र आफन्तजनले उपहार दिई शुभकामना समेत ब्यक्त गर्ने चलन छ । तर धकधईका एक युवाले अरुलाई नै उपहार दिएर आफ्नो जन्मदिन मनाएका छन् ।

रोहिणी गाउँपालिका– ३ बस्ने ३१ बर्षीय युवा पवन कुमार मिश्रले आफ्नो जन्मदिनको अवसर पारी ग्रामीण क्षेत्रमा रहेको विद्यालयका विद्यार्थीलाई टिफिन बक्स उपहार दिई मनाएका छन् । अहिले पनि कतिपय बिद्यार्थीहरु खाजाकै अभावमा बिद्यालयसम्म पुग्न नसकेको अवस्थामा खाजा बोक्न केही सहजता होस भनेर विद्यार्थीलाई टिफिन बक्स बितरण गरेको उनले बताए ।

रोहिणी गाउँपालिका–७ टिकरमा रहेको सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत २ सय ५० विद्यार्थीहरुलाई उनले टिफिन बक्स वितरण गरेका हुन् । शिक्षा आर्जन गर्न आउने विद्यार्थीहरुलाई अध्ययनप्रति थप प्रोत्साहन गर्ने उद्देश्यले आफ्नो जन्मदिनमा टिफिन वितरण गरेको मिश्रले बताए । यस अघिका जन्मदिन पनि अरुसित मनाएका उनले पछि पनि यसैगरी जन्मदिन मनाउने बताए ।

सरस्वती आधारभूत विद्यालयका प्रधान अध्यापक राजेन्द्र यादवले बिशेषगरी ग्रामीण क्षेत्रमा खाजा खान घर जाने र फर्केर आउन समस्या हुने विद्यार्थीलाई टिफिन बक्सले बिद्यालयमा उपस्थिति बढाउन सहयोग गर्ने बताए । उनले अझै पनि ग्रामीण क्षेत्रमा विद्यार्थीहरु अभावमै रहेको कारण यस्ता कार्यक्रमले उनीहरुमा उर्जा मिल्ने बताए । सबैले आफ्नो जन्मदिनमा अन्यथा खर्च गर्नुभन्दा यस्तै रचनात्मक कामगरि दिए यसले समाजमा धेरै राम्रो सन्देश जाने बताए ।

वि.सं. २०४७ सालमा स्थापना भएको सरस्वती आधारभूत विद्यालयमा हाल अमवा तथा टिकर क्षेत्रका २ सय ५० विद्यार्थी अध्ययनरत छन् । त्यस्तै विद्यालयमा ७ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् ।

टिप्पणी थप्नुहोस्