भ्रमण बर्षको स्वागतमा लुम्बिनीमा खाना महोत्सव

भैरहवा । नेपाल भ्रमण बर्ष २०२० को पूर्व सन्ध्यामा लुम्बिनीमा सडक खाना महोत्सव हुने भएको छ ।

‘लुम्बिनी जाऔं, लुम्बिनीमा खाऔं, लुम्बिनीमै रमाऔ’ भन्ने मूल नारा सहित लुम्बिनी होटल संघ, नेपालको आयोजनामा महोत्सवको आयोजना गर्न थालिएको हो । महोत्सवबारे जानकारी दिन लुम्बिनीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष मिथुनमान श्रेष्ठले महोत्सवलाई बिगतका भन्दा भब्य र रोचक बनाउने बताए । उनले खाना महोत्सवको यो छैठौं संस्करण भए पनि भ्रमण बर्षकै कारण यसलाई थप आकर्षक बनाउने बताए ।

अंग्रेजी डिसम्बर महिनाको ३१ गते मनाईने यस सडक खाना महोत्सवमा गत बर्षको भन्दा बढी अर्थात एकसय खानाका स्टल राखिने उनले बताए । यस पटक नेपाल भ्रमण बर्ष र लुम्बिनी भ्रमण २०७६ रहेको कारण प्रदेश सरकारको पनि यसमा सक्रिय सहयोग रहेको श्रेष्ठले बताए ।

यसका साथै अहिले स्थानीय परिकारलाई पनि प्राथमिकताका साथ स्थान दिइएको संघका सल्लाहकार हेम विष्टले जानकारी दिए । उनले प्रदेश सरकारको समन्वयमा लुम्बिनी क्षेत्रको स्थानीय परिकारको ब्रान्डिङ्गको लागी पनि काम गरेको बताए । सोही अनुसार अहिलेको सडक खाना महोत्सवमा स्थानिय परिकारको स्वाद पर्यटकले लिनसक्ने विष्टले बताए ।

सडक महोत्सवमा लुम्बिनीमा नाम चलेका होटलका परिकारहरु सुलभ दरमा सडकमै उपलब्ध गराउनुको साथै स्थानीय लोक संस्कृति झल्किनेगरी सांस्कृतिक कार्यक्रम समेत राखिएको संघका उपाध्यक्ष गोविन्द ज्ञवालीले जानकारी दिए । उनले महोत्सवमा नेपालका बिभिन्न शहरका मात्र नभई भारतबाट पनि उल्लेख्प पर्यटक आउने गरेको बताए । अहिलेको महोत्सवमा करिब २५ हजार जनाले अवलोकन गरि ४५ लाख बराबरको कारोबार हुने संघको अनुमान रहेको छ ।

बिशेष प्याकेजको घोषणा

बिशेष प्याकेजको घोषणालुम्बिनीका होटल ब्यवसायीहरुले नेपाल भ्रमण बर्षकै अवसरमा तीन रात र चार दिनको बिशेष प्याकेजको पर्यटकिय प्याकेज घोषणा गरेका छन् । ६ हजार ५ सय रुपैया देखि ७ हजार ५ सय रुपैयाँसम्ममा स्वदेशी वा बिदेशी नागरिकले उक्त प्याकेज खरिद गर्नसक्ने लुम्बिनी होटल संघ नेपालका महासचिव लिलामणि शर्माले जानकारी दिए । प्याकेजमा होटलको बसाई, खाना, देखि बुद्ध सर्किटको लागि तोकिएको बस शुल्क समेत समावेश गरिएको छ ।

प्याकेजमा लुम्बिनी मात्र नभई कपिलवस्तु र लुम्बिनी आसपासका ग्रामीण क्षेत्रलाई पनि समेटिएको शर्माले जानकारी दिए । लुम्बिनी आसपासका ११ वटा बौद्धकालीन गाउँहरु भ्रमण गराउने, चरा दृश्यावलोकन, बिभिन्न पुरातात्विक साईटहरुको अवलोकन, कपिलवस्तु लगायतका बुद्ध संग सम्बन्धित क्षेत्र अवलोकन, लुम्बिनीमै रहेको बिभिन्न गुम्बाहरु अवलोकन लगायतको कार्यक्रमहरु प्याकेज अन्र्तगत समावेश गरिएको छ ।

संघमा आवद्ध लुम्बिनी क्षेत्रका ८० वटा होटलले ४ हजार २ सय सैयाको सुविधा प्रदान गरेका छन् । सडक खाना महोत्सवको अवसरमा यी सबैको होटल बसाईमा २५ प्रतिशत छुटको ब्यवस्था गरिएको शर्माले जानकारी दिए ।

टिप्पणी थप्नुहोस्