प्रम ओली तेजोवध अभियानमा

-आरती शर्मा
काठमाडौं । पुस २ मा प्रधानमन्त्री केपी ओलीले गोप्य ढंगले नेकपा अध्यक्ष पुष्पकमल दाहाल सहित चारजना शक्तिशाली नेतालाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाए ।

स्थायी समितिको बैठकमा एकपटक पनि अनुहार नदेखाएका प्रधानमन्त्री ओलीले बुधबार साँझ केही शीर्ष नेतालाई बालुवाटार बोलाउँदा शीर्ष नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनालले सुईंको नै पाएनन ।

प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ्ग पुगेका थिए । त्यहाँको दृश्य देखेर नेतात्रय नै झस्किए । त्यहाँ राष्ट्रिय जनता पार्टीका पाँचजना शीर्ष नेता बसेका थिए: राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, संयोजक राजेन्द्र महतो, सदस्य महेन्द्र यादव, सदस्य शरदसिंह भण्डारी र सदस्य राजकिशोर यादव । सरकारलाई गरेको समर्थन फिर्ता लिएका राजपाका नेता सामु प्रधानमन्त्री ओली मुसुमुसु हाँसिरहेका थिए ।

नेताहरुको तेजोबध

पार्टीका अर्का अध्यक्ष दाहाल आफूलाई साक्षीका रुपमा मात्र बोलाइएकोमा असन्तुष्ट थिए । तै पनि, उनले नेकपा–राजपा बीचको सहमति पत्रमा हस्ताक्षर गरे । आगामी माघ ९ गते प्रदेश नं २ को राष्ट्रिय सभाका लागि चार स्थानमा हुने निर्वाचनका लागि नेकपा र राजपा बीचको सहमति पत्र थियो यो । यसलाई लिएर शीर्ष नेताहरु आक्रोशित देखिएका छन ।

जुन कुरा विहिवारको पार्टी समितिको बैठकमा अभिव्यक्त भयो । सचिवालय सदस्य बामदेव गौतमले पार्टी स्थायी समितिको बैठक चलिरहेका बेला मनपरि ढंगले सहमति गरिएकोमा आपत्ति जनाए । उनले भने, ‘रातारात सहमति गर्ने यो तरिका पटक्कै ठीक भएन ।’

नेता नेपाल निकट स्थायी समिति सदस्य भीम रावल पनि बैठकमा कडकिए । उनले पार्टी अध्यक्षद्धय ओली र दाहाललाई व्यंग्य गर्दै भने, ‘पार्टी विधि र पद्धतिमा नचलेको भन्दै आफैले प्रतिवेदन लेख्ने, अनि पार्टीको महत्वपूर्ण बैठक साथीहरुलाई छलेर बोलाउने र सुटुक्क सहमति गर्ने ?’ राजपासँग भएको सहमतिका बारे बैठकलाई जानकारी दिन र यसको औचित्य पुष्टिगर्न नेता रावलले माग गरे । दुई बुँदे सहमतिप्रति नेताहरु घनश्याम भुसाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र रघुजी पन्तले पनि विरोध जनाएका थिए ।

नेता नेपालले पनि दुई पार्टीको सहमतिबारे सुईंको समेत नदिएकोमा आक्रोश व्यक्त गरे । उनले भने, ‘मलाई किनारा लगाउन खोजिएको छ । मलाई थाहै नदिइ राजपासँग सहमति गरिएको छ । यही हो पार्टीको बिधि बिधान ? यही हो परिपाटी ?’

यान्त्रिक नबनौं : दाहाल

बिहिबारको बैठकमा पार्टी अध्यक्ष दाहालले पनि सहमतिबारे बालुवाटार पुगेर मात्र आफूले थाह पाएको जानकारी दिए । उनले प्रधानमन्त्री ओलीको बचाउ गर्दै कूटनीतिक ढंगले भने, ‘मलाई पनि केही थाह थिएन । बालुवाटारमा प्रधानमन्त्रीले बोलाउनु भयो । राजपासँग एकतागर्ने भइयो भन्नुभयो । मलाई पनि बेठीक हुन्छ जस्तो लागेन । अध्यक्षहरुले केही गर्नै हुन्न भन्ने यान्त्रिकताबाट पनि नहेरौं ।’

यस विषयमा आवश्यक छलफलगर्ने भन्दै अध्यक्ष दाहालले विहिबारको बैठक टुंग्याए । शुक्रवारको लागि बैठक स्थगित गरिएको छ । २९ मंसिरबाट शुरु भएको नेकपा स्थायी समितिको बैठक भोलि शनिवार सकिने जनाइएको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री