बाँके र बर्दियामा चिसो अत्याधिक बढ्यो

-सिराज खान
नेपालगन्ज । शीतलहर बाक्लो हुस्सुका कारण पश्चिम नेपालका तराईका जिल्लाहरु बाँके र बर्दियामा चिसो अत्याधिक बढेको छ ।

शीतलहर र हुस्सुका कारण चिसो धेरै बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बढेको चिसोले गर्दा सडकमा सवारी साधन र मानिसको आवागमन निकै कम देखिएको छ ।

दुवै जिल्लाका प्रमुख बजारहरुमा समेत चहल पहल र व्यापार व्यवसाय घटेको व्यवसायीहरुले बताएका छन् । नेपालगन्जका प्रमुख बजार त्रिभुवन चोक, सदरलाइन, घरबारीटोल, वीपी चोक, बीरेन्द्र चोक र पुष्पलाल चोक र कोहलपुर, खजुरा तथा राँझामा समेत क्षेत्रमा चहलपहल घटेको छ ।

सोही प्रकारले बर्दियाको गुलरिया, बासगढी, भुरीगाउँ र मैनापोखरमा समेत चहल पहल घटेको व्यवसायीले बताएका छन् । मंगलवारबाट एक्कासी शीतलहर चलेर चिसो बढेपछि बजारमा मानिसको आवागमन घटेको र ब्यापार व्यवसाय समेत कम भएको नेपालगन्ज उद्योग बाणिज्य संघले जनाएको छ । संघका अध्यक्ष नन्दलाल वैश्यले चिसोले न्यानो लुगा र हिटर गिजरका पसल बाहेक अन्य बजार सुनसान बनाएको बताए ।

शीतलहर र चिसोबाट सबैभन्दा बढी रिक्सा चालक, ठेला चालक र मजदुरहरु प्रभावित भएका छन् । चिसो बढ्दै गएकोले स्थानीय बासिन्दाले उपमहानगर पालिकासंग टोल टोलमा दाउरा खसाल्न आग्रह गरेका छन् । यसैगरी केही दिन यता चिसो बढ्दै गएका कारण नेपालगन्जका अस्पतालहरुमा चिसोका विरामीहरु पुुग्नेक्रम बढेको अस्पतालहरुले जनाएका छन् ।

मेडिकल कलेजको नेपालगन्जस्थित शिक्षण अस्पतालमा गत दुई तीनदिन यता निमोनिया, कोल्ड डायरिया र रुघाखोकी लागेको बालबालिका र बृद्धबृद्धाहरु आउने क्रम बढेको सो अस्पतालका निर्देशक डा. एम किदवाईले बताए ।

उनले चिसो बढेसंगै बिरामीहरु पनि अस्पतालमा आउने क्रम बढेकाले चिसोबाट जोगिने उपाय अपनाउन सबैसंग आग्रह गरे । सोही प्रकारले भेरी अस्पतालमा पनि चिसोका विरामीहरु आउने क्रम दिनदिनै बढ्दै गएको सो अस्पतालका चिकित्सक डा. संकेत कुमार रिसालले जनाए ।

बालबालिकालाई बढी हेरचाह गर्नु पर्नेमा जोड दिंदै चिसोबाट जोगाउन न्यानो लुुगा र आगो लगायत हिटरमा आफ्ना बालबालिकालाई राख्न शिक्षण अस्पताल नेपालगन्जका बाल बिशेषज्ञ डा. सकिल अहमदले आग्रह गरेका छन् । उनले बालबालिका धेरै बिरामी हुन थालेको पनि जनाएका छन् ।

उता, शितलहर, कुहिरो र भिजीविलिटी कम भएका कारण दुईदिन यता विहान र बेलुकी नेपालगन्जबाट हुने अधिकांश हवाई उडान प्रभावित भएका छन् । विहान पहाडी जिल्लाहरुका सिमिकोट, बाजुरा, मुगुको रारा, डोल्पा र जुम्लामा हुने हवाई उडानमा ढिलाई हुने गरेको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ । यसैगरी विहान र बेलुका काठमाडौंका लागि हुने हवाई उडानपनि प्रभावित भैरहेको सो कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले बताए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री