अधिकांश नेपालीले प्याज खान छाडे

-सिराज खान
नेपालगन्ज । अहिले नेपालगन्जका बजारमा प्याजको मूल्य थप आकासिएको छ । अहिले यहाँ प्याज दुई सय पचास रुपैयाँ प्रतिकिलो विक्री भैरहेको छ ।

दुई महिना पहिलेसम्म प्रतिकिलो ५० देखि ६० रुपैयाँसम्ममा विक्री भैरहेको प्याज अहिले २ स ५० रुपैयाँ प्रतिकिलो पुगेपछि अधिकांश स्थानीयले प्याज खानै छाडेको बताएका छन्

अप्रत्यासित रुपमा प्याजको मूल्य बढेसंगै बजारमा पाउन समेत समस्या भएकाले अहिले धेरैले प्याज खान छाडेको तरकारी व्यवसायी रमजान कबडियाले बताए । भारतमा समेत प्याजको अभाव उत्पन्न भएपछि भारतले निर्यातमा प्रतिबन्ध लगाएको छ ।

भारतले निर्यातमा कडाई गरेपछि नेपाली बजारमा प्याजको भाउ दिनप्रतिदिन बढ्दै गएको व्यवसायी बताउँछन् । भारतबाट सहजै आउने गरेको प्याजको निर्यातमा अहिले कडा प्रतिबन्ध छ ।

नेपाली बजारमा खपत हुने प्याज अधिकांश भारतबाट आउने गरेको अर्का स्थानीय व्यवसायी शरीफ कबडियाले बताए । भारतबाट आउने प्याजमा प्रतिबन्ध लागेपछि अहिले नेपाली बजारमा प्याजको अभाव उत्पन्न हुनुका साथै चोरी पैठारी गरेर भित्रिन थालेपछि मुल्य थप बढेको बताइएको छ ।

हाल नेपालगन्जको रानीतलाउ थोक तरकारी बजारमा प्याजको भाउ खुद्रामा प्रतिकिलो २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । तरकारी बजारमा नम्बरको १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको व्यवसायीले जनाएका छन् ।

दुई महिना अघि प्रतिकिलोको ५० देखि ६० रुपैयाँमा कारोबार भएको प्याज दुई महिनाको अवधीमा किलोमा दुईसय रुपैयाँसम्म बढेको छ । तरकारी बजार भन्दा बाहिरका खुद्रा पसलहरुमा २ सय ७० सम्म किलोको कारोबार भइरहेको उपभोक्ताहरु बताउँछन् ।

नेपालगन्ज वडा नम्बर ११ बस्ने दुलारे गुप्ताले प्याजको मुल्य अप्रत्यासित रुपले बढेपछि अहिले प्याज नै खान छोडेको बताए । केही दिन अगाडी आधा किलो प्याजको १ सय ५० रुपैयाँ तिरेको बताउँदै प्याजको मूल्य बढेको देखेर अचम्मित भएको गुप्ताले बताए ।

पछिल्लो समयमा प्याज बाहेक अन्य तरकारीको मूल्य पनि क्रमशः बृद्धि हुँदै गएको छ । तर, प्याजमा जस्तो अत्याधिक बृद्धि भने भएको छैन । प्याजमा त दुई महिनाको अवधीमा किलोको दुईसय रुपैयाँसम्म बढेको छ । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धको सोझो असर नेपाली बजारमा परेको नेपालगन्जको रानीतलाउ तरकारी बजारका ब्यापारी सिकन्दर राइले बताए ।

उनले भने, ‘अहिले मात्रै हाइन २/३ महिना अगाडि देखिनै प्याजको मुल्य बढ्दै आएको हो ।’ प्याजको मुल्यमा बृद्धी भएसंगै अहिले पहिलेको तुलनामा प्याजको ब्यापार घटेको उनले बताए ।

भारतबाट आउने प्याजमा प्रतिबन्ध लगाइएको भएपनि चोरीबाटो भएर प्याज भित्रेने गरेकोले नै बढी मूल्यमा विक्री भैरहेको ब्यापारीहरु बताउँछन् । मूल्य आकाशिएपछि उपभोक्तहरुले प्याज खान छाडेसंगै खपतमा समेत ह्रास आएको छ ।

बजारमा अहिलेको प्याजको मूल्य चार वर्ष यताको सबैभन्दा महंगो भएको व्यवसायीको भनाई छ । नेपालगन्ज–११ का इम्तियाज राइ प्याजको मूल्य कुखुराको मासुको बराबर पुगेको बताउँछन् ।

‘कुखुराको मासुको केजीको तीन सय छ भने प्याज पनि २ सय ५० देखि तीन सयको बीचमा विक्री भैरहेको छ,’ उनले भने ।
एक महिना अघि ३ सय ५० रुपैंयाँमा पाँच किलो प्याज खरिद गरेको तर अहिले तेब्बर बृद्धि भएको राइको भनाइ छ । प्याजको मूल्यमा बृद्धीसंगै अहिले अधिकांश पसलहरुमा पाउन छाडेको छ ।

भान्सामा दाल, तरकारी, अचार, मास लगायत सबै चिजमा मसलाको रुपमा प्रयोग हुने प्याजको मूल्य बढेपछि त्यसको प्रत्यक्ष मारमा उपभोक्ताहरु परेका छन् । नेपालगन्ज उपमहानगरपालिका–११ बस्ने दिपक शर्माले प्याजको मुल्य किलोको २ सय ५० पुगेको आफूले पहिलो पटक भोगेको बताउँदै यसरी मूल्य बढ्नुले उपभोक्ताहरु मारमा परेको बताए । उनले सरकारले यसमा केही पनि गर्न नसक्नु झनै चिन्ताको विषय भएको बताए ।

टिप्पणी थप्नुहोस्