चौकीदारविरुद्ध महिला कैदीबन्दी आन्दोलित, बन्दीगृहमा तालाबन्दी

नेपालगन्ज । महिला बन्दीगृहका चौकीदारको विरोधमा बाँके कारगारका महिला कैदीबन्दी आन्दोलित भएका छन् ।उनीहरुले शुक्रवार विहानदेखि चौकीदार ललिता रेग्मीलाई थुनेर महिला बन्दीगृहमा तालाबन्दी गरेका थिए ।

चौकीदार रेग्मीले अभद्र व्यवहार गर्दै आएको र खाना समेत राम्रो नदिएको भन्दै उनीहरु आन्दोलित भएको बाँके कारगारका निमित्त प्रमुख दिपेन्द्र पौडेलले बताए ।

आन्दोलनमा उत्रिएका बन्दीहरुले महिला बन्दीगृहको गेटमा धर्ना बसेर तालाबन्दी समेत गरेर चौकीदारलाई नहटाएसम्म आन्दोलन जारी राख्ने जनाएका थिए ।

महिला कैदीबन्दीहरुले चौकीदार रेग्मीलाई समेत भित्र थुनेर राखेको र दुबै पक्षसग बार्ताको लागि प्रयास गरेपनि बेलुकासम्म गेटमा धर्ना दिएका कारण सम्भब हुन नसकेको पौडेलले बताए ।

आन्दोलनमा उत्रिएका कैदीबन्दीले कारागार प्रशासनको कुरा नसुनेपछि आन्दोलनको नेतृत्व गरिरहेका दुई जना महिला बन्दीलाई स्थानान्तरण गरिएको कारागारका निमित्त प्रमुख पौडेलले बताए । उनले दुईजनालाई त्यहाँबाट हटाईएपछि आन्दोलन समाप्त भएको पनि बताएका छन् ।

यसअघि दिनभरी जसो आन्दोलनकारीसंग बार्ता गर्ने प्रयास गरिएको जनाउँदै उनले कुनैपनि हालतमा कुरा गर्न नमानेपछि आन्दोलनकारीलाई अन्यत्रको कारागारका सारिएको बताए । आन्दोलनको अगुवाई गर्ने महिला बन्दीहरुको नाम भने उनले बताउन चाहेनन् । एकदुई दिनमा उनीहरुको नाम सार्वजनिक गरिने जेलर पौडेलले बताए ।

यसअघि पनि गत कात्तिक १४ गते पुरुष कैदीबन्दीहरुले चौकीदार बिरुद्ध आन्दोलन गरेका थिए । आन्दोलन पश्चात् चौकीदार भरत फडेरा र जेलर भरतराज पाण्डेको सरुवा गरिएको थियो । विभिन्न कारणले पटक पटक चर्चामा आउँदै गरेको बाँके कारगारमा विभिन्न बिषयलाई लिएर पटक पटक आन्दोलन हुँदै आएको छ ।

यसैवीच बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले कारागारको विवाद समाधान भएको बताएका छन् । उनले सो घट्नाको बारेमा बिस्तृत रुपमा अनुसन्धान गरिने पनि बताए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री