अतिक्रमण गरी बनेका घर-टहरामाथि डोजर चलाइयो

-सिराज खान
नेपालगन्ज । सुकुम्वासीको नाममा नेपालगन्जको एक विद्यालयको जग्गा अतिक्रमण गरेर बर्षौदेखि घर टहरा बनाएर बसोबास गरिरहेका दर्जनौ घरमा अतिक्रमण हटाउन डोजर चलाइएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–२० राँझा चोकमा रहेको आदर्श माध्यमिक विद्यालयको सोही वडाको गायत्रीनगरमा रहेको जग्गालाई अतिक्रमण गरेर बनाइएका घर टहरालाई डोजरले भत्काउन थालिएको हो ।

विद्यालयको ३ विगाह ७ कठ्ठा १४ धुर जग्गालाई अतिक्रमण गरेर बनाइएका ७६ वटा घर टहरालाई डोजर लगाएर भत्काउन थालिएको वडा नम्बर २० को कार्यालयले जनाएको छ ।

१० बर्षदेखि विद्यालयको जग्गालाई हडपेर बसोबास गर्दै आएका स्थानीयलाई बारम्बार नबस्न आग्रह गर्दा पनि अटेर गरी खाली गर्न नमानेकाले बाध्य भएर डोजर चलाउनु परेको वडा नम्बर २० का वडा अध्यक्ष कृष्ण कार्कीले बताए ।

बारम्बार सूचना जारी गर्दा पनि सुकुम्बासीको नाममा गैरसुकुम्बासीले विद्यालयको जग्गा कब्जा गरेकाले यो कदम उठाउनु परेको उनले बताए । वास्तविक सुकुम्वासीका लागि भने वैकल्पिक व्यवस्था गरिने उनले जनाए । ‘वास्तविक सुकुम्वासी र जग्गाविहीनका लागि व्यवस्था गर्ने निर्णय भैसकेको छ, त्यसैले उनिहरुले कुनै चिन्ता लिनु पर्दैन,’कार्कीले भने ।

हाल विद्यालय रहेको स्थानलाई विमानस्थल विस्तारका लागि अधिग्रहण गरिने भएपछि विद्यालयलाई गायत्रीनगरमा सार्नुपर्ने भएकोले अतिक्रमण हटाउन डोजर प्रयोग गरिएको विद्यालयका प्रध्यानाध्यापक प्रकाश आचार्यले बताए ।

अतिक्रमित जग्गा खाली गर्न लामो समयदेखि गरिएको वडा र विद्यालयको प्रयास असफल भएपछि बाध्य भएर डोजर चलाएर भत्काउनु परेको जनाउँदै विद्यालयका प्रध्यानाध्यापक आचार्यले गायत्री नगरको जग्गा २०३६ सालदेखि विद्यालयको नाममा रहेको बताए । विद्यालयको जग्गामा सुकुम्वासी र जग्गाविहिनको नाममा ७६ वटा अवैध घर टहरा बनाएर बसोबास गर्दै आएका छन् ।

लालपूर्जा भएको जग्गाका घर भत्काइयो: स्थानीय

२०४० सालदेखि बसोबास गर्दै आएको बस्तीमा डोजर चलाएर लालपूर्जा भएको जग्गामा बनेका घर टहरा भत्काईएको स्थानीयले आरोप लगाएका छन् ।

कुनै हालतमा आफ्नो घर खाली नगर्ने अडान राख्दै त्यसका लागि जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको स्थानीय दिपक बर्माले बताए । अधिकांशसंग जग्गाको लालपूर्जा रहेको जनाउँदै उनले लामो समयदेखि आफूहरुले बिजुलीबत्ति र मालपोत समेत तिर्दै आएको जनाएका छन् ।

वडा कार्यालय र विद्यालयको दादागिरीका कारण ७६ घर परिवार विस्थापित हुन थालेको जनाउँदै अर्का स्थानीय शिवलाल शर्माले आफूहरुले बस्ती नछाड्ने बताए । उनले राजनीतिक दबाब र विद्यालयको एकलौटी निर्णयले बस्ती नै सखाप हुने गरेर डोजर चलाइएको आरोप लगाए ।

विद्यालयको भवन रहेको जग्गालाई विमानस्थल विस्तारका लागि नेपालगन्ज नागरिक उड्डयन कार्यालयले अधिग्रहण गर्ने भएपछि विद्यालयलाई गायत्रीनगरमा सार्नका लागि अतिक्रमित जग्गा खाली गराउन थालिएको विद्यालय व्यवस्थापनले जनाएको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री