विमान चढ्न आएका यात्रु नेपालगन्जबाट फर्किए, काठमाडौंमा पर्खिरहे

-सिराज खान
नेपालगन्ज । बाक्लो हुस्सु र शीतलहरले गर्दा भिजिविलिटी नपुगेपछि आइतवार दिनभरी नेपालगन्ज विमानस्थल बन्द गरियो ।

सोही कारणले यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरु र राजधानी काठमाडौंका लागि हुँदै आएका सबै उडान रद्द गरिए । विहानैबाट लागेको बाक्लो हुस्सुका कारण नेपालगन्जको राँझा विमानस्थलबाट आइतवार कुनै पनि उडान हुनसकेन ।

जहाज अवतरण र उडानका लागि भिजिबिलिटी नहुँदा यहाँबाट पहाडी जिल्लाहरु लगायत राजधानीका लागि कुनै पनि उडान नभएको विमानस्थलले जनाएको छ ।

कर्णाली प्रदेशका जुम्ला, हुम्ला, डोल्पा र मुगु तथा सुदुरपश्चिमको बाजुरा, बझांगका लागि विहान मात्रै उडान हुने हुँदा भिजिबिलिटी न्यून हुँदा सबै उडान रद्द गरिएको विमानस्थल टावरका उपप्रबन्धक विष्णु अधिकारीले बताए ।

आइतवार विहानैदेखि तीन सय मिटर मात्र भिजिबिलिटी रहेकोले पहाडी जिल्लाहरुका सबै उडान रद्द गर्नुका साथै विहान र दिउँसो तथा अपरान्ह हुने राजधानीका पनि सबै उडान रद्द गरिएको उनले बताए ।

जहाज उडान र अवतरणकालागि न्युनतम एक हजार छ सय मिटर भिजिबिलिटी हुनुपर्नेमा तीनसय मिटर मात्र रहेकोले प्रयाप्त भिजिबिलिटी नभएसम्मका लागि विमानस्थल बन्द गरिएको विमानस्थल टावरले जनाएको छ ।

हवाई उडान नहुँदा पहाडी जिल्लाहरु तथा राजधानी काठमाण्डौ जानका लागि टिकेट काटेर विमानस्थल पुगेका सयौं यात्रु अलपत्र परेका छन् । पहाडी जिल्लाका यात्रुहरु विमानस्थलबाट फर्किएको र काठमाडौका यात्रुहरुले विमानस्थल खुल्ने प्रतिक्षामा दिनभरी कुरेर बसेको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ ।

सो कार्यालयका अनुसार अब मौसम विग्रिसकेकोले केही दिनसम्म अवस्था यस्तै रहन सक्ने आशंकामा पहाडी जिल्लाका बासिन्दाले टिकट फिर्ता गरेर गाडीमा गन्तव्यतर्फ लागेका छन् ।

नेपालगन्ज विमानस्थलबाट दैनिक कर्णाली सुदुरपश्चिम प्रदेशका पहाडी र हिमाली जिल्लामा २० वटा र काठमाडौंका लागि नौ वटासम्म उडान हुने गरेका छन् । यहाँबाट काठमाडौं, डोल्पा, बाजुरा, सिमिकोट, जुम्ला, मुगु, रुकुम, बझाङमा दैनिक उडान हुने गरेको छ ।

यसैगरी केही दिनयता शुरु भएको शितलहर र चिसोका कारण बाँके र बर्दियाको जनजिवन अस्त व्यस्त भएको छ । चिसोका कारण दुवै जिल्लाका अधिकांश विद्यालयमा विदा घोषणा गरिएको छ भने सर्वसाधारण आवश्यक काम बाहेक घरबाट बाहिर निस्केका छैनन् ।

दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र श्रमिकलाई चिसोले सबैभन्दा बढी समस्या पारेको छ । चिसोकै कारण धेरै मजदुरले काम पाएका छैनन् । काम नपाउँदा जिविका चलाउन समस्या भैरहेको उनिहरुले बताएका छन् ।

टिप्पणी थप्नुहोस्