नेपाल-भारत प्रवेशमा पासपोर्ट लागु गर्नुपर्छ !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुजी पन्तले हालै सम्पन्न भएको पार्टीको स्थायी कमिटी बैठकले पार्टीभित्र देखिएको गतिरोध र गतिहीनता तोड्ने काम गरेको स्पष्ट पारेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पन्तले बैठकले पार्टीभित्र झाँगिदै गएको गुटको समस्यापनि समाधान गर्न फलदायी बनेको टिप्पणी गरे । उनले भने,‘स्थायी कमिटीको बैठकमा सरकार र पार्टीको बारेमा जीवन्त छलफल भएको छ ।’

साक्षात्कारमा बोल्दै उनले स्थायी कमिटीको बैठक धेरै ढिला बसेको कुरा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि स्वीकारेको र यस सम्बन्धमा आत्माआलोचना गरेको सुनाए ।

पन्तले सरकारले भारतसँगको सीमा विवाद कुटनीतिक रुपमा चाँडोभन्दा चाँडो हल गर्नुपर्नेमा जोड दिए । उनले भने,‘कालापानी, लिपुलेक, लिम्पियाधुराको नेपाली भूमीबारे सरकारले अहिले लिएको स्ट्याण्ड ठीक छ । सीमा विवाद पुरानो हो । अब यो विवादलाई यथाशक्य चाँडो हल गर्नुपर्छ । सरकारले यही बेलामा पहलकदमी लिनुपर्छ ।’

स्थायी कमिटीको बैठकमा लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमी भएकोले त्यहाँबाट भारतीय सेना फिर्ता गर्नुपर्ने, भारतले हालै प्रकाशित गरेको आन्तरिक नक्शा नमान्ने र सीमा विवाद समाधानको लागि कुटनीतिक पहल गर्ने तीनवटा प्रस्ताव नै पारित गरेको पन्तले सुनाए ।

नेपाल र भारतबीचको खुल्ला सीमालाई विस्तारै विस्तारै व्यवस्थित गर्नुपर्नेमा पन्तले जोड दिए । उनले भने,‘विस्तारै विस्तारै पासपोर्ट लागु गर्नुपर्छ । खुल्ला सीमाना भएकोले अहिले नेपालमा भुटानी शरणार्थीदेखि रोहिंग्याहरुको ठूलो संख्यामा प्रवेश भएको छ ।’ खुल्ला सिमानाको दुरुपयोग गरेर भारतबाट अवाञ्छित तत्व नेपाल छिर्ने खतरा रहेको पनि उनले टिप्पणी गरे ।

पन्तले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले समय नदिँदा पार्टी एकताका बाँकी काम सम्पन्न नभएको भनेर बैठकमा प्रश्न उठेको पनि सुनाए ।

टिप्पणी थप्नुहोस्